काठमाडौं- काठमाडौं महानगरपालिकाले राष्ट्रिय ट्रमा सेन्टरलाई करिब एक करोड रुपैयाँ लागत बराबरका अर्थोपेडिक इम्प्लान्ट/मेडिकल सामग्री उपलब्ध गराएको छ।
महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले शुक्रबार सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मरासिनीलाई सामग्री हस्तान्तरण गरेकी छिन्। यो सँगै विपन्न तथा बेवारिसे नागरिकले निशुल्क उपचार पाउने छन्। महानगरले ११५ प्रकारका सामग्री उपलब्ध गराएको हो।
स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख डंगोलले महानगरपालिकाले केवल सामग्री हस्तान्तरण नगरेर विपन्न नागरिकको सहज उपचार सुनिश्चित गर्ने जिम्मेवारी नै सेन्टरलाई सुम्पेको स्पष्ट पारिन्। ट्रमा सेन्टरमा आउने अधिकांश बिरामी आपतकालीन सेवाका लागि आउने भएकाले यस्ता संवेदनशील सामग्रीले मानिसलाई पुनर्जीवन दिने उल्लेख गर्दै उनले महानगरको खरिद प्रक्रियाबाट प्राप्त सामग्रीले लक्षित वर्गसम्म उपचारको पहुँच ह्वात्तै बढाउने विश्वास व्यक्त गरिन्।
बिरामीको सामाजिक सुरक्षा र पारदर्शिता सुनिश्चित गर्न ट्रमा सेन्टरले प्राप्त सामग्रीको प्रयोग र मौज्दातबारे हरेक चार महिनामा प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था गरिएको छ। महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख दिपक कुमार के.सी.का अनुसार आर्थिक अवस्था कमजोर भएका वा बेवारिसे बिरामीलाई सेन्टरको सामाजिक सुरक्षा एकाइको सिफारिसमा र महानगरवासीलाई स्वास्थ्य विभागको सिफारिसमा मौज्दात रहेसम्म निःशुल्क इम्प्लान्ट दिइनेछ। एउटा इम्प्लान्टको मूल्य २ सय रुपियाँदेखि १० लाख रुपियाँसम्म पर्ने र औसत शल्यक्रिया खर्च साढे २ लाखसम्म पुग्ने भएकाले यो सहयोग विपन्न बिरामीका लागि ठूलो राहत साबित हुनेछ।
सहयोगप्रति आभार व्यक्त गर्दै सेन्टरका प्रमुख मेसु डा. रुद्र मरासिनीले प्राप्त सामग्रीको निष्पक्ष प्रयोगका लागि सामाजिक परीक्षण र सार्वजनिक सुनुवाइ गरिने प्रतिबद्धता जनाए। साथै, आगामी दिनमा गम्भीर बिरामीको ज्यान जोगाउन महानगरपालिकासँग ब्लड बैंक स्थापनामा समेत सहकार्यको अपेक्षा व्यक्त गरे।
कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा. डा. विवेक आचार्य र नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. बद्री रिजालले महानगरको यो प्रत्यक्ष नागरिकमुखी कदमले हजारौँ बिरामीलाई नयाँ जीवन दिने भन्दै सराहना व्यक्त गरे।