धनगढी- २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि धनगढी उपमहानगरपालिका–१ स्थित कृष्ण मन्दिर धर्मशालाबाट शनिबार सेती प्रादेशिक अस्पताल सारिएको छ।
बिहीबारदेखि पाँचबुँदे माग राख्दै अनशनरत केसीको शनिबार बिहान सेती प्रादेशिक अस्पतालका फिजिशियन डा. गजेन्द्र दुवाल नेतृत्वको मेडिकल टोलीले स्वास्थ्य परीक्षण गरेको थियो। परीक्षणका क्रममा उनको रक्तचाप ११०/९० र रक्तमा सुगरको मात्रा ५० mg/dL रहेको पाइएको चिकित्सकले जनाएका छन्। रक्तमा सुगरको मात्रा अत्यन्त न्यून भएपछि स्वास्थ्य अवस्था जटिल बन्दै गएको निष्कर्षसहित चिकित्सकले तत्काल अस्पतालको आईसीयूमा भर्ना गरी उपचार तथा निरन्तर निगरानी गर्न सुझाव दिएका थिए।
डा. केसीका सहयोगी डा. अमृत जैशीका अनुसार अनशनका कारण उनको स्वास्थ्य क्रमशः कमजोर बन्दै गएको छ। मांसपेशी बाउडिने, बोल्न असहज हुने, रक्तचापमा उतारचढाव आउने तथा केही समयअघि खुट्टाको शल्यक्रिया गरिएकाले हिँडडुल गर्न र बाथरुम जानसमेत कठिनाइ भइरहेको उनले बताए। उनका अनुसार शुक्रबार राति ब्लड सुगर ५६ mg/dL रहेकामा शनिबार बिहान ६ बजे गरिएको परीक्षणमा ५० mg/dL मा झरेको थियो।
यसबीच सरकारले डा. केसीका माग सम्बोधन गर्न तयारी रहेको जनाएको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शुक्रबार साँझ डा. जैशीसँग र राति डा. केसीसँग टेलिफोन संवाद गर्दै सरकार वार्तामार्फत माग सम्बोधन गर्न प्रतिबद्ध रहेको बताएका थिए।
संवादका क्रममा डा. केसीले पाँचबुँदे मागसँगै शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तत्काल ३०० शैयाको पूर्णकालीन अस्पताल सञ्चालन गर्न, चिकित्सा शिक्षाको अध्ययन सुरु गर्न तथा स्वार्थ प्रेरित रूपमा गरिएको उपकुलपति र रजिस्ट्रारको नियुक्ति खारेज गर्नुपर्ने मागलाई प्राथमिकताका साथ उठाएका थिए।
मन्त्री पोखरेलले ती विषयमा गृहकार्य गरी वार्ता टोली गठन गर्ने र सम्भव भए आफू धनगढी नै आउने प्रतिबद्धता जनाएको डा. जैशीले जानकारी दिए। यद्यपि, स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि डा. केसीलाई धर्मशालाबाट सेती प्रादेशिक अस्पताल सारेर चिकित्सकको निगरानीमा उपचार थालिएको छ।