जुम्ला- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाबाट पहिलोपटक एमबीबीएस चिकित्सक उत्पादन भएका छन्। प्रतिष्ठानको पहिलो एमबीबीएस ब्याचका १८ जना विद्यार्थी अन्तिम (पाँचौं वर्ष) परीक्षा उत्तीर्ण भएसँगै कर्णालीको स्वास्थ्य शिक्षा इतिहासमा नयाँ अध्याय थपिएको छ।
प्रतिष्ठानले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेको एमबीबीएस कार्यक्रमअन्तर्गत पहिलो ब्याचको नियमित वार्षिक अन्तिम परीक्षाको नतिजा सार्वजनिक गरेको हो। प्रकाशित नतिजाअनुसार परीक्षा रोल नम्बर १ देखि १६ तथा १८ र २० का विद्यार्थी उत्तीर्ण भएका छन्। अब उनीहरूले अनिवार्य इन्टर्नशिप सुरु गर्नेछन्।
यस उपलब्धिप्रति खुसी व्यक्त गर्दै प्रतिष्ठानका पूर्व उपकुलपति डा. मंगल रावलले यो सफलता कर्णालीका लागि ऐतिहासिक उपलब्धि भएको बताएका छन्।
उनका अनुसार नतिजा सार्वजनिक भएपछि पहिलो ब्याचका विद्यार्थी समीर पौडेलले फोन गरेर आफूहरू अन्तिम एमबीबीएस परीक्षा उत्तीर्ण भएको जानकारी दिएका थिए। त्यसपछि आफूले विद्यार्थीहरूलाई बधाई दिँदै कर्णालीले आफ्नै भूमिबाट पहिलोपटक एमबीबीएस चिकित्सक उत्पादन गर्न सफल भएको अनुभूति गरेको उनले उल्लेख गरेका छन्।
डा. रावलले आफूले प्रतिष्ठानको नेतृत्व सम्हालेपछि सामूहिक प्रयास, अथक मेहनत र दृढ प्रतिबद्धताका साथ एमबीबीएस कार्यक्रम सुरु गरिएको स्मरण गर्दै पहिलो ब्याचसँग आफ्नो विशेष भावनात्मक सम्बन्ध रहेको बताएका छन्। उनले यस उपलब्धि केवल विद्यार्थीहरूको सफलता मात्र नभई प्रतिष्ठानका प्राध्यापक, चिकित्सक, कर्मचारी तथा सम्पूर्ण कर्णालीवासीको साझा उपलब्धि भएको उल्लेख गरेका छन्।
उनले पहिलो ब्याचका सबै विद्यार्थीलाई बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै उनीहरूलाई यहाँसम्म पुर्याउन योगदान दिने सम्पूर्ण शिक्षक, चिकित्सक, कर्मचारी र प्रतिष्ठान परिवारप्रति सम्मान तथा कृतज्ञता व्यक्त गरेका छन्।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान २०६८ सालमा स्थापित भएको हो। दुर्गम कर्णाली क्षेत्रमा गुणस्तरीय स्वास्थ्य शिक्षा तथा विशेषज्ञ जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित स्थापना भएको प्रतिष्ठानबाट पहिलोपटक एमबीबीएस चिकित्सक उत्पादन हुनु यस क्षेत्रको स्वास्थ्य शिक्षाका लागि ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ।