काठमाडौं- सरकारले चिकित्सा शिक्षा सुधारको माग राख्दै आमरण अनशनमा बसेका डा. गोविन्द केसीसँग संवाद गर्न तीन उच्च अधिकारीलाई जिम्मा दिएको छ।
शिक्षा मन्त्री सस्मित पोखरेलका अनुसार डा. केसीसँग संवादका लागि शिक्षा तथा खेलकुद सचिव चुडामणि पौडेल, स्वास्थ्य तथा जनसङ्ख्या सचिव डा. विकास देवकोटा र प्रधानमन्त्रीका स्वास्थ्य विज्ञ सल्लाहकार प्रा. डा. जगदीश अग्रवाललाई तोकिएको छ।
डा केसीसँग छलफलका लागि शिक्षा सचिव पौडेल आजै धनगढी पुगेका छन् भने स्वास्थ्य सचिव डा. देवकोटा र प्रधानमन्त्रीका विज्ञ सल्लाहकार प्रा. डा. अग्रवाल भोलि बिहान धनगढी जाने कार्यक्रम रहेको छ।
डा केसी तीन दिनदेखि आमरण अनसनमा छन्। धनगढीको कृष्ण मन्दिर धर्मशालामा अनसन बसेका डा केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई आज सेती प्रादेशिक अस्पतालमा लगिएको छ। उनको अस्पतालको आइसीयूमा उपचार भइरहेको छ।
यस्ता छन् डा केसीका माग
१. स्थापित नियम र मूल्य-मान्यता विपरीत स्वार्थको द्वन्द्व हुने गरी दशरथ चन्द मेडिकल विश्वविद्यालय लगायत चिकित्सा शिक्षा आयोगमा गरिएका गैरकानुनी र स्वार्थपरक नियुक्तिहरू तत्काल बदर गरी ऐनका विवादित प्रावधानहरू शीघ्र संशोधन गरियोस्।
२. चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने र मापदण्ड तथा पूर्वाधारविना निजी कलेजहरूमा सिट वृद्धि गर्ने निर्णय वा प्रस्तावहरू तत्काल खारेज गरियोस्।
३. 'राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५' बमोजिम चिकित्सा शिक्षालाई पूर्ण गैरनाफामूलक बनाउने कानुनी प्रावधान शीघ्र कार्यान्वयन गरियोस्। साथै विगतका सरकारहरूसँग भएका लिखित सहमतिहरू कार्यान्वयन गरियोस्।
४. सुदूरपश्चिम लगायत सीमावर्ती क्षेत्रका नागरिकहरू स्वास्थ्य, शिक्षा, यातायात र रोजगारीका लागि छिमेकी मुलुकसँग परनिर्भर हुनुपर्ने बाध्यताको अन्त्य गर्दै नागरिक अधिकार र राष्ट्रिय आत्मसम्मानको रक्षाका लागि आवश्यक पूर्वाधार र सेवा प्राथमिकताका साथ विस्तार गरियोस्।
५. २०८२ भदौ २३ र २४ मा भएका जघन्य हत्या, आगजनी, लुटपाट र विनाशका दोषीहरूलाई कडा कारबाही गरियोस् तथा २०४६ सालदेखि हालसम्म उच्च पदस्थ राजनीतिज्ञ र पदाधिकारीहरूबाट भएका भ्रष्टाचार एवं अपराधको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गरियोस्।