धनगढी– चिकित्सा शिक्षा सुधारलगायत विभिन्न माग राख्दै आमरण अनशनमा बसेका डा. गोविन्द केसी र सरकार पक्षबीच आइतबार वार्ता सुरु भएको छ।
वार्ता सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेको कार्यकक्षमा भइरहेको छ। डा. केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि उनी हाल सोही अस्पतालको आईसीयूमा उपचाररत छन्।
सरकारका तर्फबाट प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा. डा. जगदीशप्रसाद अग्रवाल, शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटा तथा प्रतिनिधिसभा सदस्य पुकार बम वार्तामा सहभागी छन्।
डा. केसीका तर्फबाट उनका सहयोगी डा. अमृत जैशी र पवन थापा वार्तामा सहभागी भएका छन्।
डा. केसी बिहीबारदेखि धनगढीमा आमरण अनशनमा छन्। उनले दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारीको नियुक्ति बदर, चिकित्सा शिक्षालाई पूर्ण गैरनाफामूलक बनाउने व्यवस्था कार्यान्वयन, छात्रवृत्ति कटौती र निजी मेडिकल कलेजमा सिट वृद्धि सम्बन्धी निर्णय फिर्ता लिनेलगायत पाँचबुँदे माग अघि सारेका छन्।