काठमाडौं– शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय (गेटा) का पदाधिकारीको नियुक्ति खारेज गर्नुपर्ने माग सहित अनसनरत डा गोविन्द केसीसँग वार्ता चलिरहेका बेला उपकुलपति डा. सुनिलकुमार जोशीले आफूहरू विश्वविद्यालय निर्माणको जिम्मेवारीप्रति प्रतिबद्ध रहेको बताएका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै डा. जोशीले सुदूरपश्चिमका नागरिकबाट प्राप्त साथ र विश्वासले परियोजनालाई सफल बनाउने आफ्नो संकल्पलाई थप बलियो बनाएको उल्लेख गरेका छन्।
उनले लेखेका छन्, 'सुदूरपश्चिम प्रदेशका सम्पूर्ण आदरणीय जनसमुदायबाट प्राप्त अपार माया, अटुट समर्थन र विश्वासप्रति हामी हार्दिक कृतज्ञता व्यक्त गर्दछौं। यहाँहरूको स्नेह र साथले यस परियोजनालाई सफलतापूर्वक सम्पन्न गर्ने हाम्रो दृढ संकल्पलाई अझ सशक्त बनाएको छ।'
उनले परियोजनाको सफलताका लागि पूर्ण निष्ठा, जिम्मेवारी र समर्पणका साथ काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
'यस परियोजनाको सफलता सुनिश्चित गर्न पूर्ण निष्ठा, जिम्मेवारी र समर्पणका साथ कार्य गर्नु हाम्रो प्रतिबद्धता हो,' उनले भनेका छन्।
डा. गोविन्द केसीले आमरण अनशनका क्रममा दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा गरिएको नियुक्ति बदर गर्नुपर्ने माग अघि सारेका छन्। यही मागलाई लिएर सरकार र डा. केसी पक्षबीच वार्ता चलिरहेका बेला डा. जोशीको सार्वजनिक अभिव्यक्ति आएको हो।
यसअघि गेटाका उपकुलपति डा. जोशी र रजिष्ट्रार डा. भीम चन्दको नियुक्तिकै बेला राजीनामा पत्रमा हस्ताक्षर गराइएको खुलेको छ। सरकारले पछिल्लो समय नियुक्त गरेका सवै पदाधिकारीलाई राजीनामा पत्रमा समेत हस्ताक्षर गराउने गरेको भेटिएको छ।