काठमाडौं– पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि गेटा अस्पताललाई कम्तीमा ३०० शय्याको क्षमतामा सञ्चालन गर्नु अपरिहार्य रहेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले प्रदेश सरकारले पूर्वस्वीकृति दिइसकेको सेती प्रादेशिक अस्पताललाई गेटा अस्पतालसँग गाभी स्वास्थ्य मन्त्रालयकै जनशक्ति परिचालन गर्ने हो भने अत्यन्त न्यून लागतमा ३०० शय्याको अस्पताल सञ्चालन गर्न सकिने बताएका छन्।
उनका अनुसार आफू स्वास्थ्यमन्त्री हुँदा गेटा अस्पताल सञ्चालन र एमबीबीएस पठनपाठन सुरु गर्ने उद्देश्यसहित आर्थिक वर्ष २०८२/८३ को बजेटमै स्रोत सुनिश्चित गरिएको थियो।
"त्यतिबेला पनि स्थानीयवासीको आवरणमा केही पक्षबाट वस्तुस्थिति नबुझी विरोध भयो। तथापि अस्पतालको क्षमता अभिवृद्धि गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्न हाम्रो पूर्ण तयारी थियो," उनले उल्लेख गरेका छन्।
डा. गोविन्द केसीको आमरण अनशनबारे टिप्पणी गर्दै पौडेलले अस्पताललाई छिटो सञ्चालनमा ल्याउन गरिएको सत्याग्रह अन्ततः दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई सुदृढ बनाउने पक्षमै रहेको बताएका छन्।
उनले भने, 'हाल डा. गोविन्द केसीले अस्पताल शीघ्र सञ्चालनको माग राखी सुरु गर्नुभएको सत्याग्रह अन्ततः दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयकै सुदृढीकरणका पक्षमा छ।'
तर अहिले पनि विभिन्न बहाना बनाएर विश्वविद्यालयको मेरुदण्डका रूपमा रहेको अस्पतालको क्षमता अभिवृद्धि र सञ्चालन प्रक्रियामा अवरोध सिर्जना गर्ने प्रयास भइरहेको उनको आरोप छ।
पौडेलले गेटा अस्पताललाई तत्काल ३०० शय्यामा स्तरोन्नति गरी सञ्चालनमा ल्याउनु नै सबैभन्दा व्यावहारिक विकल्प भएको उल्लेख गर्दै त्यसबिना विश्वविद्यालयको उद्देश्य पूरा नहुने तर्क गरेका छन्।
'गेटा अस्पताललाई तत्काल ३०० बेडमा स्तरोन्नति गरी सञ्चालनमा ल्याउनु नै सुल्टो र व्यावहारिक बाटो हो। यसो नगरीकन न त विश्वविद्यालयको औचित्य पुष्टि हुन्छ, न त एमबीबीएसको पठनपाठन नै सुरु हुन सक्छ,' उनले भने।
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले पनि गेटा अस्पताललाई आवश्यक पूर्वाधार र बिरामीको पर्याप्त चाप (बेड अकुपेन्सी) सुनिश्चित भएपछि मात्र एमबीबीएस कार्यक्रम सञ्चालन गर्नुपर्ने अडान राख्दै आएका छन्। यता सरकारले भने चालु शैक्षिक सत्रदेखि नै एमबीबीएस कक्षा सञ्चालन गर्ने तयारी अघि बढाइरहेको छ।