काठमाडौं- ह्याम्स अस्पतालले भारतको नयाँ दिल्लीस्थित म्याक्स सुपर स्पेशालिटी अस्पताल, साकेतसँग रणनीतिक सहकार्यको घोषणा गरेको छ। यस सहकार्यमार्फत जटिल रोगका नेपाली बिरामीलाई अन्तर्राष्ट्रियस्तरको विशेषज्ञ स्वास्थ्य सेवामा सहज पहुँच उपलब्ध गराउने लक्ष्य राखिएको अस्पतालले जनाएको छ।
काठमाडौंस्थित र्याडिसन होटलमा आयोजित ‘कार्डियाक तथा थोरेसिक शल्यचिकित्सामा हालका प्रगतिहरू’ विषयक निरन्तर चिकित्सा शिक्षा कार्यक्रममा उक्त सहकार्यको औपचारिक घोषणा गरिएको हो।
अस्पतालका अनुसार सहकार्यको मुख्य उद्देश्य विशिष्टीकृत उपचार आवश्यक पर्ने नेपाली बिरामीका लागि व्यवस्थित र समन्वित रेफरल प्रणाली विकास गर्नु, उपचारपूर्व विशेषज्ञ परामर्श, उपचार समन्वय तथा उपचारपश्चात निरन्तर अनुगमन सेवा सुनिश्चित गर्नु हो।
कार्यक्रममा नेपाल र भारतका ख्यातिप्राप्त कार्डियोथोरेसिक तथा थोरेसिक शल्यचिकित्सा विशेषज्ञहरूले अत्याधुनिक शल्यचिकित्सा प्रविधि, न्यून चिरफारबाट गरिने शल्यक्रिया, जटिल बिरामी व्यवस्थापन तथा बहुविषयगत उपचार प्रणालीका नवीन अभ्यासबारे अनुभव र अनुसन्धान प्रस्तुत गरेका थिए।
ह्याम्स अस्पतालका अध्यक्ष आर. एस. भण्डारीले म्याक्स सुपर स्पेशालिटी अस्पतालका कार्डियोथोरेसिक तथा रक्तनली शल्यचिकित्सा विभागका अध्यक्ष तथा प्रमुख डा. रजनीश मल्होत्रा र थोरेसिक शल्यचिकित्सा विभागका निर्देशक डा. शैवाल खण्डेलवाललगायत विशेषज्ञ चिकित्सकहरूको स्वागत गर्दै नेपालमा आधुनिक स्वास्थ्य सेवा तथा मुटुरोग उपचारको विकासमा योगदान पुर्याएका डा. भगवान कोइराला, डा. प्रकाश सायमी, डा. रञ्जन सापकोटा र डा. ज्योतिन्द्र शर्मालगायत वरिष्ठ चिकित्सकहरूको योगदानको प्रशंसा गरे।
अध्यक्ष भण्डारीले यस सहकार्यले जटिल स्वास्थ्य समस्या भएका नेपाली बिरामीलाई विश्वस्तरीय विशेषज्ञ सेवासँग अझ प्रभावकारी रूपमा जोड्ने विश्वास व्यक्त गरे। उनका अनुसार सहकार्यमार्फत उपचारपूर्व परामर्शदेखि उपचार समन्वय र उपचारपश्चात निरन्तर अनुगमन सेवासम्म एकीकृत स्वास्थ्य सेवा प्रणाली विकास हुनेछ। साथै दुवै संस्थाका स्वास्थ्यकर्मीबीच ज्ञान, सीप र अनुभव आदानप्रदानले स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिमा समेत टेवा पुग्ने उनले बताए।
सहकार्यअन्तर्गत विशिष्टीकृत उपचार आवश्यक पर्ने नेपाली बिरामीले ह्याम्स अस्पतालमार्फत उपचार योजना, विशेषज्ञ चिकित्सकीय परामर्श, उपचार व्यवस्थापन तथा उपचारपश्चात नेपालमै निरन्तर अनुगमन सेवा प्राप्त गर्ने अस्पतालले जनाएको छ।
ह्याम्स अस्पतालले यस सहकार्यलाई आफ्नो अन्तर्राष्ट्रिय साझेदारी विस्तारको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको जनाएको छ। अस्पतालका अनुसार यसले अन्तर्राष्ट्रिय मापदण्डअनुसार गुणस्तरीय, सुरक्षित तथा बिरामीकेन्द्रित स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धतालाई थप सुदृढ बनाउनेछ।