वीरगञ्ज- नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि भएको आक्रमणको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको पहल र निरन्तर समन्वयपछि घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको हो।
घटनालगत्तै मन्त्री मेहताले गृहमन्त्री, नेपाल प्रहरीका महानिरीक्षक, पर्साका प्रमुख जिल्ला अधिकारी, स्थानीय सुरक्षा निकाय, नारायणी अस्पताल प्रशासन तथा नेपाल मेडिकल एसोसिएसनका पदाधिकारीहरूसँग निरन्तर समन्वय गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन पहल गरेकी थिइन्।
घटनाको वास्तविक अवस्था बुझ्न र आवश्यक समन्वयका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट एक प्रतिनिधि टोली वीरगञ्ज पठाइएको छ। मन्त्रालयका अनुसार घटनामा संलग्न एक जना पक्राउ परिसकेका छन् भने अन्य व्यक्तिहरूको पहिचान तथा भूमिकाबारे थप अनुसन्धान भइरहेको छ।
यसैबीच, घटनामा घाइते भएका मेडिकल अफिसर डा. प्रमोद रामको उपचारमा कुनै कमी हुन नदिन मन्त्री मेहताले सम्बन्धित निकायलाई निर्देशन दिएकी छिन्। उनको सम्पूर्ण उपचारको व्यवस्था नेपाल सरकारले मिलाएको मन्त्रालयले जनाएको छ।
स्वास्थ्य संस्थामा हुने कुनै पनि प्रकारको हिंसा स्वीकार्य नहुने स्पष्ट पार्दै मन्त्री मेहताले दोषीमाथि कडा कानुनी कारबाही हुने बताइन्। साथै, स्वास्थ्यकर्मीको सुरक्षा र नागरिकले सुरक्षित वातावरणमा उपचार पाउने अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ।