वीरगन्ज- नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि नेपाल चिकित्सक संघको केन्द्रिय टोली वीरगन्ज पुगेको छ।
संघका महासचिव डा. विश्वराज दवाडी र सहकोषाध्यक्ष डा. तेजसु सिंह मल्ल आइतबार वीरगन्ज पुगेर नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणको घटनाबारे स्थलगत जानकारी लिएका छन्।
टोलीले सर्वप्रथम घटनामा घाइते भएका डा. प्रमोद राम र उनको परिवारसँग भेटघाट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ। संघका अध्यक्ष डा. बद्री रिजाल, कोषाध्यक्ष डा. संयुक्त आचार्य र वीरगन्ज शाखाका पदाधिकारीहरूसँगको परामर्शपछि घाइते डा. प्रमोदलाई थप उपचार तथा सुरक्षाका लागि काठमाडौं ल्याउने निर्णय गरिएको सहकोषाध्यक्ष डा मल्लले जानकारी दिए।
यसैबीच, टोलीलाई संघको वीरगञ्ज शाखाका पदाधिकारी तथा चिकित्सकहरूसँग करिब ३–४ घण्टा लामो विस्तृत छलफलपछि हालको परिस्थितिमा नारायणी अस्पतालमा आकस्मिक तथा नियमित स्वास्थ्य सेवा सञ्चालन गर्न असमर्थ रहेको चिकित्सकहरूले जानकारी गराएको छन्। चिकित्सकहरूको यस निर्णयप्रति नेपाल चिकित्सक संघले पूर्ण ऐक्यबद्धता र समर्थन जनाएको छ। साथै, पीडित चिकित्सकमाथि नै अस्पताल प्रशासनले गरेको निलम्बनको निर्णयप्रति संघले गम्भीर आपत्ति जनाउँदै उक्त निर्णय तत्काल फिर्ता लिई निलम्बन खारेज गर्न जोडदार माग गरेको छ।
संघले घटनामा संलग्न सबै व्यक्तिहरूलाई कानुनबमोजिम पक्राउ गरी अदालतमा पेश गर्न माग गरेको छ। दोषीहरूलाई अदालतमा पेश गर्ने प्रक्रिया अगाडि नबढेसम्म नारायणी अस्पतालमा जारी आन्दोलन यथावत् रहने र केवल आश्वासन पर्याप्त नहुने भएकाले ठोस एवं प्रभावकारी कानुनी कारबाही हुनैपर्ने अडान पर्साका प्रमुख जिल्ला अधिकारीसमक्ष पनि राखिएको मल्लले जानकारी दिए। उनले यस क्रममा संघका पूर्व अध्यक्ष डा. अनिल विक्रम कार्कीसँग परामर्श गरिएको छ भने डा. निरज सिंहले समन्वय र आवश्यक सहयोग गरेको जानकारी पनि दिए।
चिकित्सक तथा स्वास्थ्य संस्थामाथिको हिंसा कुनै पनि अवस्थामा स्वीकार्य हुन नसक्ने भन्दै दोषीमाथि निष्पक्ष र कडा कानुनी कारबाही नै दीर्घकालीन समाधान भएको संघको भनाइ छ। सुरक्षित वातावरणमा स्वास्थ्य सेवा प्रदान गर्न पाउनु चिकित्सकको मौलिक व्यावसायिक अधिकार र गुणस्तरीय स्वास्थ्य सेवाको आधारभूत शर्त भएकाले यसमा कुनै सम्झौता नहुने स्पष्ट पार्दै नेपाल चिकित्सक संघ सधैँ चिकित्सकहरूको हक, हित, सुरक्षा र पेशागत एकताको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता जनाएको छ।