नवलपरासी- नेपाल सीएमए संघ केन्द्रीय कार्यसमितिको आयोजनामा गण्डकी, लुम्बिनी र बागमती प्रदेशका जिल्ला अध्यक्ष, जिल्ला प्रतिनिधि तथा समन्वय समिति सदस्यहरूको संयुक्त प्रदेशस्तरीय भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा सीएमए/अहेव पारामेडिक्स स्वास्थ्यकर्मीहरूको पेशागत हक, हित तथा अधिकारको सुनिश्चितता, संगठन सुदृढीकरण तथा वर्तमान नीतिगत अन्योलका विषयमा व्यापक छलफल भएको थियो। सहभागीहरूले संघलाई अझ सशक्त र क्रियाशील बनाउँदै पेशागत अधिकार सुनिश्चित गर्न आवश्यक परे कानुनी, नीतिगत तथा आन्दोलनका सबै स्वरूपमा एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
अन्तरक्रियाका क्रममा सहभागीहरूले पारामेडिक्स स्वास्थ्यकर्मीहरूको पेशागत अधिकारलाई राज्यको नीति, निर्देशिका तथा ऐनमै स्पष्ट रूपमा सुनिश्चित गरी लामो समयदेखि कायम अन्योलताको अन्त्य गर्नुपर्ने माग राखेका थिए।
सहभागीहरूको जिज्ञासाको जवाफ दिँदै संघका केन्द्रीय उपमहासचिव ईश्वर चापागाईं (नवीन)ले संघले संघीय सरकारका सम्बन्धित निकायहरूसँग निरन्तर सकारात्मक पहल र समन्वय गरिरहेको जानकारी दिए। उनका अनुसार संघीय ऐन तथा निर्देशिकासँग बाझिने गरी केही प्रदेश तथा स्थानीय पालिका तहहरूले स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी ऐन, नियम तथा कार्यविधि लागू गर्दा पारामेडिक्स स्वास्थ्यकर्मीहरू अनावश्यक अन्योल र अप्ठ्यारोमा परेका छन्।
संघीय सरकारसँग पटक-पटक भएका छलफल, सहमति तथा सम्झौताहरूलाई शीघ्र कार्यान्वयन गराई यस्ता नीतिगत समस्या तथा अन्योलताको दीर्घकालीन समाधान निकाल्न संघ निरन्तर सक्रिय रहेको उनले स्पष्ट पारे। साथै, पारामेडिक्स स्वास्थ्यकर्मीहरूको पेशागत अधिकार कुनै पनि हालतमा कुण्ठित हुन नदिने र राज्यले सहमति कार्यान्वयनमा आलटाल वा बेवास्ता गरेमा थप सशक्त आन्दोलनका कार्यक्रमहरू गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिँदै उहाँले सबै जिल्ला कार्यसमितिलाई तयार रहन आह्वान गरे।
नेपाल सीएमए संघका केन्द्रीय अध्यक्ष रामेश्वर प्रसादको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा केन्द्रीय उपाध्यक्षहरू कपिल खलान, गोपाल उपाध्याय र राजु अर्यालको विशेष उपस्थिति रहेको थियो। उपाध्यक्षहरूले संघका भावी नीति, योजना तथा संगठन विस्तारबारे धारणा राखेका थिए।
कार्यक्रमको स्वागत मन्तव्य केन्द्रीय उपाध्यक्ष गोपाल उपाध्यायले व्यक्त गरेका थिए भने सहजीकरण केन्द्रीय उपमहासचिव ईश्वर चापागाईं (नवीन)ले गरेका थिए।
भेलाले संगठनलाई देशभर थप सुदृढ बनाउँदै पारामेडिक्स स्वास्थ्यकर्मीहरूको अधिकार संरक्षण र नीतिगत अन्योलको स्थायी समाधानका लागि अझ प्रभावकारी रूपमा अघि बढ्ने निष्कर्ष निकालेको छ।