धनगढी - धनगढी उपमहानगरपालिकाका प्रमुख गोपी हमालले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय (गेटा) मा यही शैक्षिक सत्रदेखि एमबीबीएस अध्ययन सुरु नभए आफू अनशन बस्ने चेतावनी दिएका छन्।
सरकार र डा. गोविन्द केसी पक्षबीच विश्वविद्यालय सञ्चालनका विषयमा वार्ता भइरहेका बेला मेयर हमालले गेटा विश्वविद्यालय सुदूरपश्चिमका नागरिकको लामो समयदेखिको साझा सपना भएकाले अब थप ढिलाइ स्वीकार्य नहुने बताए।
'यो विश्वविद्यालय सम्पूर्ण सुदूरपश्चिमवासीको आशा र अपेक्षाको केन्द्र हो। यसको स्थापनाका लागि झन्डै एक पुस्ताले प्रतीक्षा गरिसकेको छ। अब पढाइ सुरु हुने समय आएको छ,' उनले भने।
विश्वविद्यालयका पदाधिकारी को हुने वा नहुने भन्ने विषयभन्दा पनि समयमै शैक्षिक कार्यक्रम सञ्चालन हुनु नै सबैभन्दा महत्वपूर्ण रहेको उनको भनाइ छ। 'पदाधिकारी को हुन्छन् वा हुँदैनन् भन्ने कुरा सुदूरपश्चिमका जनताका लागि मुख्य विषय होइन। हाम्रो प्राथमिकता यही शैक्षिक सत्रदेखि एमबीबीएस अध्ययन सुरु हुनु हो,' उनले भने।
यदि यही शैक्षिक सत्रदेखि एमबीबीएस कार्यक्रम सञ्चालन हुने वातावरण नबने आफू आन्दोलनको नेतृत्व गर्न तयार रहेको हमालले बताए। 'यदि यही वर्षबाट एमबीबीएस पढाइ सुरु भएन भने म स्वयं अनशन बस्छु। आवश्यक परे आन्दोलनको नेतृत्व पनि गर्छु,' उनले भने।
मेयर हमालले गेटा विश्वविद्यालयलाई सञ्चालनमा ल्याउन सुदूरपश्चिमका सबै नागरिकलाई एकजुट हुन आह्वानसमेत गरेका छन्। 'यो कुनै एक व्यक्ति वा संस्थाको मुद्दा होइन। यो सिंगो सुदूरपश्चिमको भविष्यसँग जोडिएको विषय हो। आवश्यक परे सबै सुदूरपश्चिमवासीलाई आन्दोलनमा सहभागी हुन आग्रह गर्दछु,' उनले भने।