काठमाडौं- नारायणी अस्पताल, वीरगञ्जमा उपचारका क्रममा बिरामीको दुःखद निधन भएको घटना तथा त्यसपछि उत्पन्न परिस्थितिप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गहिरो दुःख व्यक्त गर्दै ध्यानाकर्षण भएको जनाएको छ।
मन्त्रालयले शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै घटनालगत्तै अस्पतालमा भएको तोडफोड र उपचारमा संलग्न चिकित्सक एवं स्वास्थ्यकर्मीहरूमाथि भएको आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।
बिरामीको जीवन बचाउन दिनरात सेवामा खटिने स्वास्थ्यकर्मीबाट कुनै त्रुटि हुन गएमा त्यसको छानबिन तथा न्यायका लागि प्रचलित कानुनबमोजिम हुने व्यवस्था विद्यमान रहेको स्मरण गराउँदै मन्त्रालयले यस्ता हिंसात्मक घटनाप्रति शून्य सहनशीलताको नीति पुनः दोहोर्याएको छ।
स्वास्थ्य क्षेत्र अत्यन्त संवेदनशील भएकाले उपचारमा संलग्न हुने सेवाग्राही र सेवा प्रदायक दुवै पक्षले यो संवेदनशीलता बुझ्न आवश्यक रहेको मन्त्रालयको भनाइ छ।
सबै अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई निर्भय, सुरक्षित र उच्च मनोबलका साथ निरन्तर सेवामा समर्पित हुने वातावरण बनाउन सरकार कटिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।
मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई रोकिएका सेवा सुचारु गर्न, स्थानीय प्रशासनलाई घटनामा संलग्न दोषीहरूलाई तत्काल पत्ता लगाई कानुनी कारबाहीको दायरामा ल्याउन र सर्वसाधारण सबैलाई संयमित भई अस्पतालको सेवा सुचारु गराउन आ-आफ्नो ठाउँबाट सहयोग गर्न हार्दिक अनुरोध गरिएको छ।
हेरौं विज्ञप्तिको पूर्णपाठ
विषय :- नारायणी अस्पताल, वीरगञ्जमा भएको घटनाका सम्बन्धमा ।
नारायणी अस्पताल, वीरगञ्जमा उपचारका क्रममा बिरामीको दुःखद निधन भएको घटनाप्रति मन्त्रालय गहिरो दुःख व्यक्त गर्दछ तथा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।
उक्त घटनापछि अस्पतालमा भएको तोडफोड तथा उपचारमा संलग्न चिकित्सक एवं स्वास्थ्यकर्मीमाथि भएको आक्रमणप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । बिरामीको जीवन बचाउन दिनरात सेवामा खटिने स्वास्थ्यकर्मीबाट कुनै त्रुटि हुन गएमा त्यसको छानबिन तथा न्यायका लागि प्रचलित कानुनबमोजिम हुने व्यवस्था विद्यमान छन् । मन्त्रालय यस प्रकारका हिंसाका घटना प्रति शून्य सहनशीलताको नीति पुनः दोहोर्याउँछ ।
स्वास्थ्य क्षेत्र एक अत्यन्त संवेदनशील क्षेत्र हो । त्यसैले उपचारमा संलग्न हुने सेवाग्राही र सेवा प्रदायक सबैले यो संवेदनशीलता बुझ्न आवश्यक छ । सबै अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई बिरामीको सेवामा निर्भय, सुरक्षित, उच्च मनोबलका साथ निरन्तर सेवामा समर्पित हुने वातावरण बनाउन मन्त्रालय कटिबद्ध छ । त्यसैले चिकित्सक तथा स्वास्थ्यकर्मीहरू सबैलाई सेवा सुचारू गर्नु हुन, स्थानीय प्रशासनलाई घटनामा संलग्न दोषी पत्ता लगाई कानुनी कारबाहीको दायरामा ल्याउन हुन र सर्वसाधारणसबैलाई अस्पतालको संवेदनशीलतालाई बुझेर सेवा निरन्तर हुने वातावरण बनाइदिनु हुन अनुरोध छ । त्यसैले सबैलाई संयमित हुन र अस्पतालको सेवा सुचारु गर्न आफ्नो ठाउँबाट सहयोग गरिदिनुहुन मन्त्रालय हार्दिक अनुरोध गर्दछ ।
डा. समिरकुमार अधिकारी
सह-प्रवक्ता