काठमाडौं- नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणमा गम्भीर घाइते भएका मेडिकल अफिसर डा. प्रमोद रामलाई थप उपचारका लागि काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ट्रमा सेन्टर पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै उपचारमा कुनै कमी हुन नदिन चिकित्सक र अस्पताल प्रशासनलाई निर्देशन दिएकी छिन्।
मन्त्रालयका अनुसार डा. रामलाई विशेषज्ञ उपचार उपलब्ध गराउन आवश्यक सम्पूर्ण व्यवस्थापन मिलाइएको छ। मन्त्री मेहताले उपचारमा संलग्न चिकित्सकहरूसँग छलफल गर्दै आवश्यक सबै सहयोग गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताइन्।
यसैबीच, मन्त्रालयले नारायणी अस्पतालमा भएको तोडफोड तथा चिकित्सक र स्वास्थ्यकर्मीमाथिको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। उपचारका क्रममा हुने कुनै पनि अप्रिय घटनाको छानबिनका लागि प्रचलित कानुनी व्यवस्था विद्यमान रहेकाले कानुन हातमा लिएर हिंसात्मक गतिविधि गर्नु कुनै पनि अवस्थामा स्वीकार्य नहुने मन्त्रालयले स्पष्ट पारेको छ।
मन्त्रालयले स्थानीय प्रशासनलाई घटनामा संलग्न दोषीको पहिचान गरी कानुनबमोजिम कारबाही अघि बढाउन आग्रह गरेको छ। साथै, चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई सेवा सुचारु राख्न अनुरोध गर्दै अस्पतालमा सुरक्षित र निर्भय वातावरण सुनिश्चित गर्न सम्बन्धित सबै पक्षसँग अपिल गरिएको छ।