काठमाडौं - वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र त्यसपछिका घटनाको विरोधमा नेपाल चिकित्सक संघले मंगलबार देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेको छ। उता, स्वास्थ्य तथा खाद्य मन्त्रालयले स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिन सबै अस्पताललाई अपिल गर्दै दोषीमाथि कानुनी कारबाही प्रक्रिया अघि बढिरहेको जनाएको छ।
नेपाल चिकित्सक संघले सोमबार जारी गरेको विज्ञप्तिमा साउन ९ गते नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमण तथा अस्पतालमा भएको तोडफोडको घटनामा संलग्नलाई तत्काल पक्राउ गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९) बमोजिम कडा कारबाही गर्न माग गरेको छ।
संघका अनुसार घटनाको विषयमा जिल्ला प्रशासन कार्यालय, पर्सामा भएको वार्ताका क्रममा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा प्रहरी परिचालन गरी नेपाल चिकित्सक संघका केन्द्रीय कार्यकारिणी समितिका सदस्य तथा नारायणी शाखाका अध्यक्षलगायत चिकित्सकमाथि गालीगलौज र दुर्व्यवहार गरिएको थियो। संघले उक्त घटनाको घोर भर्त्सना गर्दै चिकित्सकमाथि दुर्व्यवहार गर्ने पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखमाथि पनि कारबाही गर्न माग गरेको छ।
चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको दमनको विरोधस्वरूप संघले साउन १२ गते मंगलबार देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेको जनाएको छ। आन्दोलनका थप कार्यक्रम सर्वपक्षीय भेलापछि सार्वजनिक गरिने संघले जनाएको छ। साथै आन्दोलनबाट बिरामीलाई पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै त्यसको जिम्मेवारी सरकारको हुने संघको दाबी छ।
यता, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि भइरहेका आक्रमण, कुटपिट र दुर्व्यवहारका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीका लागि सम्बन्धित निकायमार्फत आवश्यक प्रक्रिया अघि बढिरहेको उल्लेख गरिएको छ।
मन्त्रालयका अनुसार नारायणी अस्पतालमा घाइते भएका चिकित्सक डा. प्रमोद रामलाई थप उपचारका लागि काठमाडौं ल्याउने व्यवस्था मिलाइएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले राष्ट्रिय ट्रमा सेन्टर पुगेर घाइते चिकित्सकको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै दोषीमाथि कडा कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिएकी छन्।
मन्त्रालयले स्वास्थ्य सेवा अत्यावश्यक, जीवनरक्षक र संवेदनशील सेवा भएकाले कुनै पनि परिस्थितिमा उपचार सेवा अवरुद्ध हुन नहुने स्पष्ट पारेको छ। सुरक्षित र सम्मानजनक वातावरणमा स्वास्थ्यकर्मीले सेवा दिन पाउने अधिकार सुनिश्चित गर्नुपर्ने उल्लेख गर्दै मन्त्रालयले नागरिकको उपचार सेवामा असर नपर्ने गरी स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न सबै अस्पताल तथा स्वास्थ्य संस्थासँग अपिल गरेको छ।