काठमाडौं – वीरगञ्जस्थित नारायणी अस्पतालका चिकित्सकहरूले सामूहिक राजीनामा दिने तयारी गरेका छन्। यसका लागि अस्पतालमा कार्यरत चिकित्सकहरूबाट हस्ताक्षर संकलन सुरु गरिएको अस्पतालले जनाएको छ।
अस्पतालका प्रवक्ता तथा सूचना अधिकारी डा. उदयनारायण सिंहका अनुसार चिकित्सकमाथि भएको कुटपिट, त्यसपछिको आन्दोलन र प्रशासनसँगको वार्ताका क्रममा भएको व्यवहारप्रति असन्तुष्टि जनाउँदै चिकित्सकहरूले सामूहिक राजीनामाको प्रक्रिया अघि बढाएका हुन्।
साउन ८ गते नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद राममाथि कुटपिट हुनुका साथै अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण र अस्पतालमा तोडफोड भएको थियो। घाइते डा. रामको हाल राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौंमा उपचार भइरहेको छ। उक्त घटनापछि चिकित्सकहरूले आकस्मिकबाहेकका सेवा बन्द गरी आन्दोलन गर्दै आएका छन्।
डा. सिंहका अनुसार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मंगलबार सेवा सञ्चालन गर्न आग्रह गरेपछि चिकित्सकहरू वार्ताका लागि सकारात्मक भएका थिए। चिकित्सकमाथि आक्रमण गर्नेहरूलाई पक्राउ गरी कानुनी कारबाही गरिने आश्वासनपछि उनीहरू जिल्ला प्रशासन कार्यालय पर्सामा वार्ताका लागि पुगेका थिए।
तर वार्ताका क्रममा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले चिकित्सकप्रति अपशब्द प्रयोग गर्नुका साथै प्रहरी परिचालन गरी चिकित्सकहरूलाई करिब एक घण्टा नियन्त्रणमा राखिएको डा. सिंहले आरोप लगाए। त्यसपछि यस्तो वातावरणमा काम गर्न नसकिने निष्कर्षमा पुगेर सरकारी चिकित्सकहरूले सामूहिक राजीनामा दिने निर्णय गरेको उनले बताए।
नारायणी अस्पतालका चिकित्सकहरूले सामूहिक राजीनामाका लागि हस्ताक्षर संकलन गरिरहेका छन्। यता, नारायणी अस्पतालमा भएको घटनाको विरोधमा नेपाल चिकित्सक सङ्घले मंगलबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ।