काठमाडौं— नेपाली कांग्रेसका सभापति तथा पूर्वस्वास्थ्य मन्त्री गगन थापाले आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीका पेशागत सुरक्षासम्बन्धी माग तत्काल सम्बोधन गर्दै स्वास्थ्य सेवा प्रवाह सुचारु गर्न सरकारसँग आग्रह गरेका छन्।
थापाले साउन ९ गते वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनालाई अत्यन्तै दुःखद र निन्दनीय भएको बताएका छन्। नागरिकको जीवन रक्षामा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मी आफ्नै कार्यस्थलमा असुरक्षित हुनु तथा उपचार गर्ने क्रममा वा उपचार गरेकै आधारमा दुर्व्यवहार र भौतिक आक्रमणमा पर्नु कुनै पनि सभ्य समाजमा स्वीकार्य हुन नसक्ने उनको भनाइ छ।
घटनापछि नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिँदा उपचारको पर्खाइमा रहेका हजारौँ बिरामी प्रभावित भएको उल्लेख गर्दै थापाले चिकित्सक तथा स्वास्थ्यकर्मी आफ्नै सुरक्षाका लागि सेवा बन्दजस्तो अप्रिय निर्णय गर्न बाध्य हुनु चिन्ताजनक भएको बताएका छन्। उनले यस्ता घटनाको तत्कालीन तथा दीर्घकालीन समाधान खोज्न ढिलाइ गर्न नहुनेमा जोड दिएका छन्।
थापाले विगतमा चिकित्सक तथा स्वास्थ्यकर्मीको आन्दोलन र नेपाली कांग्रेसकै पहलमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (संशोधनसहित) कार्यान्वयनमा आएको स्मरण गराउँदै नारायणी अस्पताल घटनामा संलग्न दोषीलाई कानुनबमोजिम कारबाही गर्न तथा वार्ताका क्रममा दुर्व्यवहार गर्ने अधिकारी र प्रहरीमाथि निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन्।
उनले नेपाल चिकित्सक संघ तथा स्वास्थ्यकर्मीसँग तत्काल संवाद गरी उनीहरूको पेशागत सुरक्षासम्बन्धी माग सम्बोधन गर्न, ओपिडीलगायत अत्यावश्यक स्वास्थ्य सेवा तत्काल सञ्चालन हुने वातावरण बनाउन सरकारले विशेष पहल गर्नुपर्ने बताएका छन्।
साथै, स्वास्थ्य सेवा अत्यावश्यक सेवा भएकाले यसको संवेदनशीलतालाई ध्यानमा राख्दै हजारौँ बिरामीको हितलाई प्राथमिकतामा राख्न, सेवा प्रवाह नरोक्न र वार्ता तथा संवादमार्फत समाधान खोज्न आन्दोलनरत नेपाल चिकित्सक संघसहित सबै चिकित्सक तथा स्वास्थ्यकर्मीलाई थापाले आग्रह गरेका छन्।
यस्तो छ गगन थापाको भनाइ
आन्दोलनरत चिकित्सक र स्वास्थ्यकर्मीको माग संवोधन गरी स्वास्थ्य सेवा प्रवाह सुचारू गर्न आग्रह । यही साउन ९ गते वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा भएको तोडफोडको घटना अत्यन्तै दुखद र निन्दनीय छ। नागरिकको जीवन रक्षाका लागि खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीहरू नै आफ्नै कार्यस्थलमा असुरक्षित हुनु र उपचार गर्ने क्रममा वा गरेकै आधारमा दुर्व्यबहार र भौतिक आक्रमणमा पर्नु कुनै पनि सभ्य समाजमा स्वीकार्य हुन सक्दैन।
यस घटना पश्चात पेशागत सुरक्षाका लागि नेपाल चिकित्सक संघ लगायतको आव्ह्वानमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरू आन्दोलित हुँदा उपचारको पर्खाइमा रहेका हजारौँ बिरामीहरूले सास्ती भोग्नुपर्ने विषम परिस्थिति सिर्जना भएको छ। आफ्नो सुरक्षा र पेशागत हकका लागि सेवा बन्दजस्तो अप्रिय निर्णय गर्ने ठाउँमा चिकित्सक तथा स्वास्थ्यकर्मी पुग्नु चिन्ताजनक विषय हो।यस्तो परिस्थिति अहिलेमात्र भएको होइन। त्यसैले यसतर्फ तत्कालिन र दीर्घकालीन समाधान खोज्न ढिलो गर्नु हुँदैन।
१. विगतमा चिकित्सक र स्वास्थ्यकर्मीको पटक पटकको आन्दोलनको दवाव र नेपाली कांग्रेसकै पहलमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६(संशोधन सहित) कार्यान्वयनमा आइसकेको छ। अत: यस घटनामा संलग्न दोषीलाई कानून बमोजिम कारवाही गरियोस्। वार्ताका क्रममा दुर्व्यवहार गर्ने अधिकारी र प्रहरी माथि निष्पक्ष छानबिन गरियोस्।
२. नेपाल चिकित्सक संघ र स्वास्थ्यकर्मीसँग अविलम्ब संवाद गरी उनीहरूका पेशागत सुरक्षाका मागहरू सम्बोधन गरेर ओपिडी लगायतका अत्यावश्यक सेवाहरू तत्काल सुचारु गर्ने वातावरण मिलाउन सरकारले अतिरिक्त पहलकदमी लियोस्।
३. स्वास्थ्य सेवा अत्यावश्यक सेवा भएकोले यसको संवेदनशीलताको ख्याल राख्दै हजारौं नागरिक र विरामीको अबस्थालाई ध्यान दिएर सेवा प्रवाह नरोक्न र वार्ता र संवादवाटै समाधान खोज्न आन्दोलनरत नेपाल चिकित्सक संघ लगायत सवै चिकित्सक र स्वास्थ्यकर्मीलाई अपिल गर्दछु।