काठमाडौं – धनुषाको विदेह नगरपालिका–५ का पूर्व वडा अध्यक्ष विजयकुमार यादवविरुद्ध एम्बुलेन्स सञ्चालनबाट प्राप्त आम्दानी हिनामिना गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गर्दै भारतीय राजदूतावासको सहयोगमा प्राप्त एम्बुलेन्सलाई सरकारी अभिलेखमा दाखिला नगरी निजी नियन्त्रणमा राखेर सञ्चालन गरेको तथा त्यसबाट प्राप्त आम्दानी सरकारी कोषमा दाखिला नगरेको आरोप लगाएको हो।
आयोगका अनुसार भारतीय राजदूतावास, लैनचौरसँग २०७७ असोज १४ गते भएको सम्झौताअनुसार वडा बासिन्दालाई सेवा उपलब्ध गराउने उद्देश्यले निःशुल्क प्राप्त एम्बुलेन्सलाई वडा कार्यालयको जिन्सी अभिलेखमा आम्दानी बाँधिएको थिएन। साथै एम्बुलेन्स सञ्चालनसम्बन्धी लगबुक, सेवा विवरण, निःशुल्क तथा शुल्क लिएर प्रदान गरिएका सेवाको अभिलेख र आय–व्ययको हिसाबसमेत नराखिएको पाइएको आयोगले जनाएको छ।
अनुसन्धानबाट पूर्व वडा अध्यक्ष यादवले सरकारी सार्वजनिक सम्पत्तिलाई निजी सवारीसरह आफ्नै नियन्त्रणमा राखी गैरकानुनी लाभ लिने उद्देश्यले सञ्चालन गरेको तथा तीन वर्ष पाँच महिनाको अवधिमा एम्बुलेन्स ३० हजार १८५ किलोमिटर गुडाएको खुलेको आयोगको दाबी छ।
नेपाल रेडक्रस सोसाइटी धनुषाले २०७८ जेठ ४ गते प्रकाशित गरेको एम्बुलेन्स सेवाको जिल्ला दररेटका आधारमा कच्ची सडकमा सञ्चालन भएको भाडादरअनुसार गणना गर्दा रु. १५ लाख ९ हजार २५० बराबरको सार्वजनिक सम्पत्ति हिनामिना तथा हानिनोक्सानी भएको स्थापित भएको आयोगले जनाएको छ।
उक्त रकम बराबरको बिगो कायम गरी सार्वजनिक सम्पत्ति हिनामिना गरेको कसुरमा सजायको मागदाबीसहित पूर्व वडा अध्यक्ष यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगले जनाएको छ।