धरान- वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन विभागका एडिसनल प्रोफेसर तथा डाइबिटोलोजिस्ट डा. अजय यादव अन्तर्राष्ट्रिय मधुमेह महासंघ (इन्टरनेशनल डायबिटिज फडेरेसन–आईडीएफ) को प्रतिष्ठितफिजिकल एक्टिभिटी इम्पिलमेन्टेसन कमिटीमा चयन भएका छन्।
विश्वका १६३ देशका २६४ राष्ट्रिय मधुमेह संघहरूको छाता संस्था आईडीएफले मधुमेह तथा यसका जटिलताबाट बच्न शारीरिक गतिविधिलाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले गठन गरेको उक्त समितिमा विश्वभरका सयौँ विज्ञमध्येबाट छनोट गरिएका शीर्ष १० विशेषज्ञमा नेपालका तर्फबाट डा. यादव पर्न सफल भएका हुन्।
आईडीएफका अनुसार समितिले 'एक्टिभ, एक्टिभ, एक्टिभ' र 'प्रिभेन्सन, प्रिभेन्सन, प्रिभेन्सन' भन्ने मूल नाराका साथ विश्वव्यापी रूपमा शारीरिक गतिविधि प्रवर्द्धन तथा मधुमेह रोकथामसम्बन्धी कार्यक्रम सञ्चालन गर्नेछ।
डा. यादव लामो समयदेखि मधुमेहको उपचार, परामर्श तथा रोकथामका क्षेत्रमा सक्रिय छन्। उनले रेडियो, टेलिभिजन, सामाजिक सञ्जाल तथा विभिन्न जनचेतनामूलक कार्यक्रममार्फत मधुमेह रोकथाम र स्वस्थ जीवनशैलीबारे जनचेतना अभिवृद्धिमा निरन्तर योगदान दिँदै आएका छन्। प्रतिष्ठानका अनुसार उनको यही दीर्घकालीन समर्पण र विशेषज्ञताका कारण उनले अन्तर्राष्ट्रिय स्तरको यो महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेका हुन्।
प्रतिष्ठानले यस उपलब्धिलाई संस्थाका साथै नेपालकै लागि गौरवको विषय भएको जनाएको छ। डा. यादवको सहभागिताले अन्तर्राष्ट्रिय स्वास्थ्य मञ्चमा नेपालको पहिचान अझ सुदृढ हुने तथा मधुमेह रोकथाम र स्वास्थ्य प्रवर्द्धनका क्षेत्रमा सकारात्मक योगदान पुग्ने विश्वास प्रतिष्ठानले व्यक्त गरेको छ।
प्रतिष्ठानका प्रवक्ता प्रा.डा. शमशेर श्रेष्ठले डा. यादवलाई उक्त उपलब्धिका लागि हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। साथै, मधुमेह रोकथाम र स्वस्थ जीवनशैली अपनाउन सबैलाई सचेत र एकजुट हुन आग्रह गरेका छन्।