काठमाडौं- सरकारले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन गर्दै सुत्केरीलाई हालको व्यवस्थाभन्दा बढाएर छ महिनाको प्रसूति बिदा दिने प्रस्ताव अघि सारेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले तयार पारेको विधेयकको मस्यौदा सार्वजनिक गर्दै यसबारे सर्वसाधारणसँग राय तथा सुझाव मागेको हो।
मन्त्रालयका अनुसार मन्त्रीस्तरीय निर्णय (२०८३ साउन ६) अनुसार तयार गरिएको ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ को मस्यौदा विधायन ऐन, २०८१ को दफा ६ बमोजिम सार्वजनिक गरिएको हो। इच्छुक व्यक्ति वा संस्थाले २०८३ साउन १२ गतेभित्र मन्त्रालयको कानून शाखाको इमेल [email protected] मा आफ्नो राय वा सुझाव पठाउन सक्नेछन्।
मस्यौदामा ऐनको दफा १३ संशोधन गरी उपदफा (१) मा रहेको “कम्तीमा अन्ठानब्बे दिन” भन्ने व्यवस्थालाई हटाई “छ महिना” बनाउने प्रस्ताव गरिएको छ। यस संशोधन कार्यान्वयनमा आएमा सुत्केरीले हाल पाउँदै आएको ९८ दिनको प्रसूति बिदाको सट्टा छ महिनाको बिदा पाउनेछन्।
यस्तै, दफा १३ को उपदफा (४) पनि संशोधन प्रस्ताव गरिएको छ। हाल रहेको “समेत उपदफा (१) बमोजिमको बिदा पाउनेछ” भन्ने व्यवस्थाको स्थानमा “अन्ठानब्बे दिनसम्मको तलबसहितको प्रसूति बिदा पाउनेछ” भन्ने व्यवस्था राख्ने प्रस्ताव गरिएको छ।
प्रस्तावित संशोधनले आमा तथा नवजात शिशुको स्वास्थ्य संरक्षण, स्तनपान प्रवर्द्धन र प्रसूति पश्चात् आमालाई पर्याप्त आराम तथा हेरचाहको अवसर उपलब्ध गराउने उद्देश्य राखेको मन्त्रालयले जनाएको छ। प्राप्त सुझाव अध्ययनपछि विधेयकलाई अन्तिम रूप दिई संघीय संसद्मा दर्ता गर्ने तयारी सरकारको छ।