काठमाडौं – कार्यस्थलमै सहकर्मी चिकित्सकमाथि सांघातिक आक्रमण भएपछि चिकित्सकहरू स्वास्थ्यकर्मीको सुरक्षाको माग गर्दै आन्दोलनमा उत्रिनुपरेको नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्री रिजालले बताएका छन्।
आफ्नो सहकर्मी चिकित्सक इमर्जेन्सीमा ड्युटीमा खटिएर कर्तव्य निर्वाह गरिरहेको अवस्थामा आक्रमणमा परी टाउकोमा गम्भीर चोट लाग्नुका साथै गर्दनको हड्डीमा समेत गम्भीर चोट लागेर अस्पतालको आईसीयूमा उपचाररत रहेको उल्लेख गर्दै उनले यस्तो घटनाले चिकित्सकहरू असुरक्षित बनेको बताए।
‘हाम्रो सहकर्मी चिकित्सक इमर्जेन्सीमा आफ्नो कर्तव्य निभाइरहेका बेला सांघातिक आक्रमणमा परेर टाउकोमा गम्भीर चोट लाग्यो र गर्दनको हड्डीमा समेत चोट लागेपछि उहाँ अहिले आईसीयूमा उपचाररत हुनुहुन्छ,’ डा. रिजालले भने, ‘यस्तो घटना भएपछि चिकित्सकहरू असुरक्षित भएका छन्। त्यसैले चिकित्सक तथा स्वास्थ्यकर्मी सुरक्षित भएर काम गर्न पाउनुपर्छ भन्ने मुख्य मागसहित हामी आन्दोलनमा उत्रिएका हौं।’
चिकित्सकमाथि हुने आक्रमणको श्रृंखला अन्त्य गर्न राज्य गम्भीर बन्नुपर्ने उनको भनाइ छ।
‘चिकित्सकमाथि पटक–पटक आक्रमण भइरहने र हामीले बारम्बार आन्दोलन गर्नुपर्ने यो सिलसिला कहिलेसम्म चल्ने हो? यही अन्त्य होस् भनेर हामीले राज्यसँग स्वास्थ्यकर्मीको सुरक्षाको सुनिश्चितता गर्न माग गरेका हौं। सरकारले आवश्यक सुरक्षा व्यवस्था गरिदियो भने चिकित्सकहरू आन्दोलनमा उत्रिनुपर्ने अवस्था रहँदैन,’ उनले भने।
राज्यले चिकित्सकका माग तत्काल सम्बोधन गरे आन्दोलन पनि तत्काल स्थगित हुने उनले स्पष्ट पारे।
‘हाम्रो आन्दोलन कहिलेसम्म चल्छ भन्ने कुरा राज्यको कदममा निर्भर छ। सरकारले अहिले नै हाम्रा माग सम्बोधन गरिदियो भने आजैदेखि, अहिलेबाटै आन्दोलन अन्त्य हुन्छ,’ उनले भने, ‘चिकित्सक र स्वास्थ्यकर्मी सुरक्षित भएर काम गर्न पाउनुपर्छ भन्ने हाम्रो मुख्य माग हो। चिकित्सकमाथि हातपात गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरी हिरासतमा लिएर कानुनी कारबाही गरिनुपर्छ।’
चिकित्सकको सुरक्षाका विषयमा स्वास्थ्यमन्त्रीका सल्लाहकारहरूसँग अनौपचारिक छलफल भए पनि औपचारिक रूपमा वार्ता भने हुन नसकेको डा. रिजालले जानकारी दिए।
‘हाम्रा मागका विषयमा स्वास्थ्यमन्त्रीका सल्लाहकार तथा सम्बन्धित पक्षसँग अनौपचारिक छलफल भएको छ। तर समिति बनाएर औपचारिक रूपमा वार्तामा बस्ने र संवादमार्फत समाधान खोज्ने प्रक्रिया अहिलेसम्म सुरु भएको छैन,’ उनले भने।
डा. रिजालले यस्ता घटना दोहोरिन नदिन दीर्घकालीन कानुनी सुधार आवश्यक रहेको बताए। उनका अनुसार स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ तथा पहिलो संशोधन, २०७९ लाई पुनः संशोधन गरी थप कडा बनाउनुपर्छ।
‘अहिलेको कानुनमा रहेको सजायको व्यवस्था पर्याप्त छैन। त्यसलाई दोस्रोपटक संशोधन गरेर अझ कडा बनाउनुपर्छ। "वा" भन्ने विकल्प हटाई सजाय अनिवार्य र कडा बनाइनुपर्छ। कानुन बलियो भयो भने मात्रै चिकित्सक, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथि आक्रमण गर्नेलाई कानुनी डर हुन्छ,’ उनले भने।
त्यस्तै, चिकित्सकलाई नै दोषी देखाउने प्रकृतिका विद्यमान कानुनी व्यवस्थामा पनि संशोधन आवश्यक रहेको उनको भनाइ छ।
‘उपचारसम्बन्धी कानुनी व्यवस्था, कन्जुमर कोर्टलगायतका केही कानुनी प्रावधान चिकित्सकलाई दोषी देखाउने ढंगले बनेका छन्। ती ऐन–कानुनलाई पनि समयानुकूल संशोधन गरेर चिकित्सकलाई कानुनी रूपमा संरक्षण गर्नुपर्ने आवश्यकता छ। यी सुधार लागू भए यस्ता घटनामा कमी आउँछ र स्वास्थ्यकर्मीले सुरक्षित वातावरणमा सेवा दिन पाउनेछन्,’ डा. रिजालले बताए।