काठमाडौं- कार्यस्थलमा चिकित्सकमाथि सांघातिक आक्रमण भएको विरोधमा आन्दोलनमा उत्रिएको नेपाल चिकित्सक संघ र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका प्रतिनिधिबीच छलफल हुने भएको छ। चिकित्सकहरूको सुरक्षाको भरपर्दो ग्यारेन्टी हुनुपर्ने मुख्य मागसहित दुई पक्षबीच अहिले मन्त्रालयमा छलफल सुरु हुन लागेको हो।
छलफलका लागि संघका प्रतिनिधिहरु मन्त्रालय पुगेका छन्। संघका अध्यक्ष डा बद्री रिजालसहितको टोली मन्त्रालय पुगेको छ भने अन्य केही प्रतिनिधिहरु पनि मन्त्रालय पुग्न लागेका छन्।
मन्त्रालयले चिकित्सकहरुका मागका विषय संवोधन गर्न छलफलका लागि बोलाएको हो।
नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि इमर्जेन्सीमा ड्युटीमा खटिएका चिकित्सकमाथि सांघातिक आक्रमण भएको थियो। आक्रमणबाट गम्भीर घाइते भएका चिकित्सकको टाउको र गर्दनको हड्डीमा चोट लागेको छ। घाइते चिकित्सकको हाल ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्री रिजालले कर्तव्य पालना गरिरहेका चिकित्सकमाथि यसरी निरन्तर आक्रमण हुनुले देशभरका स्वास्थ्यकर्मीहरू असुरक्षित बनेको बताएका छन्। चिकित्सकहरूमाथि हुने यस्ता घटनाले मनोबल खस्किएको भन्दै उनले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षाका लागि कडा कदम चाल्नुपर्ने आवश्यकता औँल्याए।
चिकित्सकहरूले दोषीमाथि कडा कारबाही, घाइते चिकित्सकको उचित उपचार तथा कार्यस्थलमा स्वास्थ्यकर्मीको सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म आन्दोलनका कार्यक्रम जारी रहने सङ्केत गरेका छन्।