काठमाडौं- चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष २०८३/८४ का लागि रु. छ अर्ब ५५ करोड २५ लाख ९८ हजार बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ।
प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको आयोगको २७औँ बैठकले उक्त बजेट पारित गरेको हो। बजेटमा नेपाल सरकारबाट विनियोजित रु. पाँच अर्ब ९९ करोड २१ लाख र आयोगको आन्तरिक स्रोततर्फको रु. ५६ करोड चार लाख ९८ हजार समावेश छ।
बैठकले गत आव २०८२/८३ को असार मसान्तसम्म आयोगको आन्तरिक स्रोतमा बचत रहेको रु. ९९ करोड ८५ लाख ९६ हजार २६७ र चालु आवमा आन्तरिक स्रोतबाट प्राप्त हुने अनुमानित रु. ३५ करोड गरी कुल रु. एक अर्ब ३४ करोड ८५ लाख ९६ हजार २६७ मध्ये चालु आवका लागि रु. ५६ करोड चार लाख ९८ हजार खर्च गर्ने निर्णय गरेको छ।
स्वीकृत बजेटमध्ये आन्तरिक स्रोततर्फ चालु खर्चका लागि रु. ४७ करोड ४२ लाख ९८ हजार र पुँजीगत खर्चका लागि रु. आठ करोड ६२ लाख विनियोजन गरिएको आयोगले जनाएको छ।
बैठकमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता, आयोगका उपाध्यक्ष प्रा. डा. देवेन्द्रबहादुर खत्री र सदस्य सचिव एवं सहसचिव वसन्तप्रसाद कोइराला लगायतको उपस्थिति रहेको थियो।