काठमाडौं- वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको दुर्व्यवहार र सांघातिक आक्रमणको घटनापछि चर्किएको आन्दोलनका बीच पर्साका प्रहरी प्रमुख (एसपी) सुदीप पाठकको सरुवा भएको छ। चिकित्सक वार्ता टोलीले प्रमुख जिल्ला अधिकारी (सिडियो) र प्रहरी प्रमुखको सरुवालाई प्रमुख सर्त बनाएपछि गृह प्रशासनले एसपी पाठकलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी तानेको हो।
पाठकको स्थानमा जिल्ला प्रहरी परिसर काठमाडौँमा कार्यरत एसपी पवनकुमार भट्टराईलाई पर्साको प्रहरी प्रमुख बनाएर पठाइएको छ।
यसअघि पाल्पा प्रहरी प्रमुखको जिम्मेवारीमा रहेका एसपी भट्टराईलाई 'जेनजी' आन्दोलनपछि काठमाडौंको सुरक्षा चुनौती व्यवस्थापन गर्न भन्दै उपत्यका ल्याइएको थियो। भट्टराईलाई पर्साको कमान्ड सुम्पिएसँगै काठमाडौं परिसरमा भने केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत दानबहादुर थापालाई ल्याइएको छ।
चिकित्सकहरूले सुरक्षाको पूर्ण ग्यारेन्टी र सम्बन्धित अधिकारीहरूको सरुवा माग गर्दै आन्दोलन चर्काएपछि प्रशासनले यी फेरबदल गरेको हो।