काठमाडौं- महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा ‘मिनिमली इन्भेसिभ कार्डियाक सर्जरी–मिक्स’ विधिबाट एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया गरिएको छ।
अस्पतालका कार्डियाक विभाग प्रमुख डा. अनिल भट्टराईको नेतृत्वमा उक्त शल्यक्रिया करिब ३ घण्टा लगाएर सम्पन्न गरिएको थियो। नयाँ प्रविधिको प्रयोग गरेर नेपालमा मुटुको यस्तो जटिल र दुर्लभ शल्यक्रिया गरिएको यो पहिलोपटक भएको डा. भट्टराईले जानकारी दिए।
काठमाडौंका ५२ वर्षीय एक पुरुषको गत साउन ५ गते शल्यक्रिया गरिएको र हाल बिरामी डिस्चार्जसमेत भइसकेका छन्। शल्यक्रियाका क्रममा दुई वटा भल्भ फेरिएको र एउटा मर्मत गरिएको थियो।
डा. भट्टराईका अनुसार ६–७ महिनाअघि स्वास्थ्य परीक्षणका लागि आएका ती पुरुषमा श्वास फेर्न गाह्रो हुने र धेरै स्वाँस्वाँ हुनेजस्ता स्वास्थ्य समस्या थिए। परीक्षणका क्रममा उनका मुटुका तीन वटा भल्भमा असर पुगेको पत्ता लागेको थियो।
कसरी गरियो ‘मिनिमली इन्भेसिभ कार्डियाक सर्जरी–मिक्स’ विधिद्वारा शल्यक्रिया?
यस विधिबाट शल्यक्रिया गर्दा काखीमुनि सानो प्वाल मात्र पारिने डा. भट्टराईले बताए। यसले बिरामीको अस्पताल बसाइलाई छोटो बनाएको तथा शल्यक्रियापछि सङ्क्रमणको जोखिम कम गराएको उनको भनाइ छ।
यसअघि यो प्रविधि नहुँदा छातीको हड्डी चिरेर ठूलो घाउ बनाउनुपर्ने हुन्थ्यो, जसले गर्दा बिरामीलाई निको हुन धेरै समय लाग्थ्यो।