काठमाडौं- सरकारी सेवामा २५ वर्ष अवधि पूरा गरेकोमा डा. भूपेन्द्र कुमार बस्नेतलाई दीर्घ सेवा पदक प्रदान गरिएको छ।
उनलाई वीर अस्पतालको १३७ औँ स्थापना दिवसको अवसरमा प्रमाणपत्रसहित उक्त पदक प्रदान गरिएको हो।
विक्रम संवत् २०५६ सालमा चिकित्सकका रूपमा नेपाल सरकारको सेवा सुरु गरेका उनले सरकारी सेवामा आफूले २७ वर्ष बिताइसकेको बताए। लामो समय चिकित्सा क्षेत्रमा गरेको योगदानको कदर हुँदा एकदमै खुसी लागेको उनले बताए।
मेडिकल अफिसरका रूपमा वीर अस्पतालबाट सेवा सुरु गरेका उनी सोही अस्पतालको निर्देशक तथा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपतिसमेत भइसकेका छन्।
उनी सरकारी सेवामा प्रवेश गर्ने बेलामा नेपालमा चिकित्सकहरू एकदमै कम थिए। लोकसेवामार्फत वीर अस्पतालमा प्रवेश गर्नुअघि पाटन अस्पतालमा करिब १ वर्ष उनले मेडिकल अफिसरका रूपमा काम गरिसकेका थिए।
त्यतिबेला उनीसँगै पढेका केही साथीहरूले उनलाई अमेरिका जानका लागि सुझावसमेत दिएका थिए। तर, नेपालमै रहेर दूरदराजसम्म सेवा दिने लक्ष्य भएकाले आफूले विदेश नरोजेको उनले बताए।
भोजपुरमा जन्मिएका उनी यस वर्ष चिकित्सकका रूपमा उक्त पदक पाउने एक मात्र व्यक्ति हुन्।