काठमाडौं- राष्ट्रिय विभूति मुख्तियार जनरल भीमसेन थापाको २५२ औँ जन्मजयन्तीको अवसरमा वरिष्ठ चिकित्सक प्रा. डा. बुद्धिबहादुर थापालाई ‘राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिभा सम्मान–२०८३’ प्रदान गरिएको छ।
बगाले थापा क्षेत्री राष्ट्रिय फाउन्डेसन, नेपालको आयोजनामा आइतबार धरहरा परिसरस्थित भीमसेन स्तम्भमा सम्पन्न स्मृति सभामा नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले प्रा. डा. थापा तथा साहित्यकार एवं गीतकार राजेन्द्र थापालाई उक्त सम्मान प्रदान गरे।
प्रा. डा. थापा नेपालको स्वास्थ्य क्षेत्रमा चार दशकभन्दा लामो समय योगदान पुर्याएका वरिष्ठ फिजिसियन हुन्। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका संस्थापक उपकुलपतिका रूपमा उनले पश्चिम नेपालमा चिकित्सा शिक्षा, विशेषज्ञ स्वास्थ्य सेवा, स्वास्थ्य अनुसन्धान तथा दक्ष जनशक्ति उत्पादनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। उनले मणिपाल शिक्षण अस्पताललगायत विभिन्न संस्थामा चिकित्सक र प्राध्यापकका रूपमा सेवा दिँदै हजारौँ चिकित्सक उत्पादन तथा स्वास्थ्य सेवाको गुणस्तर सुधारमा योगदान पुर्याएका छन्। बिरामी-केन्द्रित ‘सोसियल मेडिसिन’ अवधारणालाई व्यवहारमा उतार्दै सामुदायिक स्वास्थ्य सेवामा पनि उनले उल्लेखनीय योगदान दिएका छन्।
कार्यक्रममा राष्ट्रिय विभूति भीमसेन थापाको स्मृतिमा आयोजित रक्तदान कार्यक्रममा ५६ जनाले रक्तदान गरेका थिए।
कार्यक्रममा फाउन्डेसनका अध्यक्ष डा. राम थापा क्षेत्रीले भीमसेन थापाले नेपालको राष्ट्रिय अस्तित्व, स्वाधीनता र सार्वभौमिकताको संरक्षणमा अतुलनीय योगदान पुर्याएको उल्लेख गर्दै उनको देशभक्ति, इमानदारी र नैतिकता आज पनि नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत रहेको बताए।