काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. लेखजङ थापाले त्रसित मानसिकतामा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीले प्रभावकारी रूपमा स्वास्थ्य सेवा प्रदान गर्न नसक्ने बताएका छन्।
बिहीबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद थापाले डा. प्रमोद राममाथि भएको कुटपिटपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएको र त्यसपछि सरकार तथा नेपाल चिकित्सक संघबीच भएको वार्ता सकारात्मक भएको बताए। उनले आजैदेखि देशभर ओपीडीलगायत सम्पूर्ण स्वास्थ्य सेवा पुनः सञ्चालनमा आएकोमा सरकार र नेपाल चिकित्सक संघलाई धन्यवादसमेत दिए।
उनले वार्ताका क्रममा भएका सहमतिमध्ये ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६’ लाई आगामी दिनमा कडाइका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता महत्त्वपूर्ण रहेको बताए। त्यसैगरी अस्पतालहरूका लागि विस्तृत सुरक्षा योजना तयार गर्ने तथा ‘उपभोक्ता संरक्षण ऐन, २०७५’ संशोधनका लागि सात दिनभित्र कार्यदल गठन गर्ने सहमतिलाई पनि सकारात्मक रूपमा लिनुपर्ने उनको भनाइ थियो।