काठमाडौं- नर्सिङ तथा मिडवाइफ्री अभियन्ता ज्योति रानाभाटले नेपाल नर्सिङ परिषद्को परिसरमा सुरु गरेको सत्याग्रह दोस्रो दिन पनि जारी रहेको छ। रानाभाटले बिहीबार दिउँसो ४ बजेदेखि ‘सत्याग्रह’ नाम दिइएको अभियान सुरु गरेकी हुन्।
रानाभाटले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई १५ बुँदे मागपत्र बुझाउँदै माग पूरा नभए चरणबद्ध आन्दोलन र आवश्यक परे आमरण अनशनसम्म जाने चेतावनी १३ असारमै दिएकी थिइन्। उनले भ्रष्टाचारमुक्त, पारदर्शी र उत्तरदायी नेपाल नर्सिङ परिषद् निर्माण, गुणस्तरीय नर्सिङ शिक्षा, निष्पक्ष लाइसेन्स परीक्षा, सम्मानजनक सेवा तथा सुरक्षित स्वास्थ्य प्रणालीको सुनिश्चितताका लागि आन्दोलन थालेको बताएकी छन्।
उनका अनुसार नर्सिङ तथा मिडवाइफ्री सेवा नेपालको स्वास्थ्य प्रणालीको मेरुदण्ड भए पनि न्यून पारिश्रमिक, असुरक्षित रोजगारी, अपर्याप्त दरबन्दी, नेतृत्वको अभाव तथा विभेदकारी कानुनी व्यवस्थाका कारण नर्सिङ पेशा गम्भीर संकटमा परेको छ।
रानाभाटले उठाएका प्रमुख मागमा सरकारी, निजी तथा मेडिकल कलेजमा कार्यरत नर्स र मिडवाइफका लागि नेपाल सरकारको भन्दा कम नहुने न्यूनतम पारिश्रमिक तथा सेवा–सुविधाको कानुनी सुनिश्चितता, वैज्ञानिक मापदण्डअनुसार पर्याप्त दरबन्दी सिर्जना, नर्सिङ तथा मिडवाइफ्री सेवा ऐनको तत्काल निर्माण, करार प्रथाको अन्त्य, समान पदोन्नति र नेतृत्वको अवसर, प्रमुख नर्सिङ तथा मिडवाइफ्री अधिकृतको व्यवस्था, उच्च जोखिमयुक्त विभागमा कार्यरत नर्सका लागि जोखिम भत्ता, नर्सिङ अडिट प्रणाली, सुरक्षित कार्य वातावरण तथा सम्मानजनक मातृत्व सेवाको व्यवस्था समावेश छन्।
यी माग कुनै एक पेशागत समूहको सुविधा प्राप्तिका लागि मात्र नभई बिरामीको सुरक्षा, गुणस्तरीय स्वास्थ्य सेवा, सुरक्षित मातृत्व तथा संविधानले सुनिश्चित गरेको स्वास्थ्य अधिकारको प्रभावकारी कार्यान्वयनसँग प्रत्यक्ष जोडिएको रानाभाटको भनाइ छ।
यसैबीच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बिहीबार नै रानाभाटलाई वार्ताका लागि बोलाइएको जनाएको छ। मन्त्रालयका अनुसार रानाभाट वा उनका प्रतिनिधिलाई वार्तामा उपस्थित हुन आग्रह गरिएको भए पनि उनीहरूको तर्फबाट कोही पनि वार्तामा नआएको दाबी गरिएको छ।