काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति लिएको आरोपमा वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका इन्जिनियर (कम्प्युटर) राकेश कुमार दासविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार प्रतिष्ठानमा कार्यरत इन्जिनियर (कम्प्युटर) राकेश कुमार दासले नियुक्तिका क्रममा पेस गरेका शैक्षिक योग्यताका प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरीपछि अनुसन्धान गरिएको थियो।
अनुसन्धानका क्रममा दासले भारतको बिहार स्कुल एक्जामिनेसन बोर्ड पटनाबाट प्राप्त गरेको भनिएको इन्टरमिडियट तहको प्रमाणपत्र तथा श्री वैंकटेश्वर युनिभर्सिटी तिरुपति भारतबाबाट प्राप्त गरेको भनिएको ब्याचलर अफ इन्जिनियरिङ (कम्युटर साइन्स) को प्रमाणपत्र झुट्टा रहेको पुष्टि भएको आयोगले जनाएको छ।
आयोगका अनुसार उनले ती झुट्टा शैक्षिक प्रमाणपत्रका आधारमा वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा इन्जिनियर (कम्प्युटर) पदमा नियुक्ति लिई उक्त पदबाट ओहोदा, तलब–भत्ता तथा अन्य सुविधा प्राप्त गरेका थिए।
यस कार्यबाट उनले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) बमोजिमको कसुर गरेको ठहर गर्दै सोही दफाअनुसार कैद र जरिवानाको सजाय मागदाबी गर्दै शुक्रबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
आरोपमाथिको अन्तिम निर्णय भने विशेष अदालतको सुनुवाइपछि हुने छ।