काठमाडौं- नर्सिङ अभियन्ता ज्योति रानाभाटले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आफूलाई अनशन भाँड्ने उद्देश्यले ढिलो गरी वार्ताका लागि बोलाएको आरोप लगाएकी छन्। आफ्ना माग सम्बोधन गर्न निश्चित योजनासहित मन्त्रालय प्रस्तुत भए आफू वार्तामा बस्न तयार रहेको उनले स्पष्ट पारेकी छन्।
नेपाल नर्सिङ परिषद्को परिसरमा सुरु गरेको सत्याग्रहको दोस्रो दिन रानाभाटले मन्त्रालयले वार्ताका लागि बोलाएको विषयमा प्रतिक्रिया दिँदै आफूलाई दिउँसो करिब साढे १ बजे मात्रै वार्ताको जानकारी आएको बताइन्।
‘२ बजे मन्त्रालयमा बैठकका लागि आउन भनिएको थियो। तर, मैले अघिल्लो दिन नै पत्र दिएर अनशन सुरु गरिसकेकी थिएँ। साढे १ बजे खबर पाएर २ बजे मन्त्रालय पुग्न सम्भव थिएन,’ उनले भनिन्, ‘अनशन भाँड्ने लक्ष्यले मात्रै मलाई मन्त्रालय बोलाइएको जस्तो देखियो।’
उनका अनुसार स्वास्थ्य मन्त्रालयमा कार्यरत नर्स तथा नेपाल नर्सिङ काउन्सिलकी निमित्त रजिस्ट्रार नूजन शर्माले आफूलाई वार्ताका लागि खबर गरेकी थिइन्। आफूले वार्ता गर्नै नचाहेको नभई प्रतिबद्धताअनुसार सत्याग्रह सुरु गरेको उनको भनाइ छ।
‘वार्ता नै गर्दिनँ भनेको होइन। कम्तीमा आफ्नो प्रतिबद्धताअनुसार अनशन सुरु गर्छु भनेर मात्रै म अनशन बसेकी हुँ,’ उनले भनिन्।
सत्याग्रह सुरु हुनै लाग्दा मन्त्रालयबाट फोन आएको र तत्काल उपस्थित हुन नसक्ने जानकारी आफूले गराएको रानाभाटले बताइन्। त्यसपछि भने मन्त्रालयका तर्फबाट वार्ताका लागि थप कुनै प्रयास नभएको उनको दाबी छ।
रानाभाटले आफ्ना माग पूरा गर्न निश्चित योजना र ठोस प्रतिबद्धतासहित सरकार प्रस्तुत भए वार्ताका लागि आफूहरू तयार रहेको बताइन्। केवल अनशन तोडाउने उद्देश्यले गरिने वार्ताभन्दा पनि समस्याको निष्कर्षमा पुग्ने गरी वार्ता हुनुपर्ने उनको अडान छ।
‘सहमति गर्नका लागि मात्रै होइन, निष्कर्षमा पुग्ने गरी वार्ता हुनुपर्छ,’ उनले भनिन्।
रानाभाटले बिहीबार दिउँसो ४ बजेदेखि नेपाल नर्सिङ परिषद्को परिसरमा सत्याग्रह सुरु गरेकी हुन्। उनको सत्याग्रह दोस्रो दिन पनि जारी छ।
यसअघि उनले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई १५ बुँदे मागपत्र बुझाउँदै माग पूरा नभए चरणबद्ध आन्दोलन गर्दै आवश्यक परे आमरण अनशनसम्म जाने चेतावनी दिएकी थिइन्।
भ्रष्टाचारमुक्त, पारदर्शी र उत्तरदायी नेपाल नर्सिङ परिषद् निर्माण, गुणस्तरीय नर्सिङ शिक्षाको सुनिश्चितता, निष्पक्ष लाइसेन्स परीक्षा, नर्सिङ जनशक्तिका लागि सम्मानजनक सेवा–सुविधा तथा सुरक्षित स्वास्थ्य प्रणालीको सुनिश्चिततालगायतका माग राख्दै आफू आन्दोलनमा उत्रिएको रानाभाटले बताउँदै आएकी छन्।