काठमाडौं- सरकार र नेपाल चिकित्सक संघसँग भएको सम्झौता अनुसार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कानुन संशोधन एवं विगतका सम्झौताहरू कार्यान्वयनका लागि तीनवटा छुट्टाछुट्टै कार्यदल गठन गरेको छ।
साउन १३ गते मन्त्री निशा मेहताको उपस्थितिमा कानुन, उद्योग, गृह मन्त्रालय र नेपाल चिकित्सक संघका प्रतिनिधिहरूबीच ५ बुँदे सहमति भएको थियो। सोही सहमति अनुसार आज शुक्रबार मन्त्रालयले तीन वटा कार्यदल गठन गरेको हो।
सबै कार्यदलहरूलाई आगामी १५ दिनभित्र मस्यौदा तथा कार्यान्वयन खाकासहितको प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ।मन्त्रालयले उपभोक्ता संरक्षण ऐन, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन र विभिन्न मन्त्रालय र नेपाल चिकित्सक संघबीच विगतमा भएका सम्झौताहरूको अध्ययन गरी कार्यान्वयन खाका तयार पार्ने गरी तीन वटा कार्यदल गठन गरेको हो।
उपभोक्ता संरक्षण ऐन संशोधन गर्न गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. रोशन न्यौपानेको संयोजकत्वमा कार्यदल गठन भएको छ। कार्यदलमा नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्री रिजाल, सदस्य डा. बिना श्रेष्ठ, डा. योगेश भण्डारी, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधिहरू सदस्य रहेका छन् भने कानुन अधिकृत जय कुमार सुवेदीलाई सदस्य-सचिवको जिम्मेवारी दिइएको छ।
त्यस्तै, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ को दफा २, ३ र १५ एवं मुलुकी अपराध संहिता, २०७४ को दफा २३२ र २३३ मा संशोधन मस्यौदा तयार पार्न अर्को कार्यदल गठन भएको छ।
उपचारात्मक सेवा महाशाखाका निर्देशक डा. पवन जंग रायमाझी संयोजक रहेको यस कार्यदलमा वरिष्ठ अस्पताल नर्सिङ प्रशासक बाला राई, कानुन मन्त्रालयका प्रतिनिधि, चिकित्सक संघका डा. विश्वराज दवाडी, डा. संयुक्त आचार्य, डा. राकेश शाह सदस्य र कानुन अधिकृत सुरेश चौलागाईं सदस्य-सचिव रहेका छन्।
तेस्रो कार्यदललाई भने यसअघि विभिन्न मन्त्रालय र नेपाल चिकित्सक संघबीच भएका सम्झौताहरूको अध्ययन गरी कार्यान्वयन खाका (प्रतिवेदन) तयार पार्ने जिम्मेवारी दिइएको छ।
प्रमुख स्वास्थ्य प्रशासक डा. यदु चन्द्र घिमिरेको संयोजकत्वमा गठित यस कार्यदलमा कानुन उप-सचिव राजेन्द्र प्रसाद लम्साल, मेडिकल अधिकृत डा. राहुल झा, चिकित्सक संघका तर्फबाट डा. सन्जिब तिवारी, डा. तेजसु सिंह मल्ल, डा. पल्पसा श्रेष्ठ सदस्य तथा मेडिकल अधिकृत डा. नवराज जोशी सदस्य-सचिव रहेका छन्।