काठमाडौं- महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल)ले ‘गुणस्तर सुधार तथा बिरामी सुरक्षा इकाइ’ गठन गरेको एक वर्षमा गुणस्तर सुधारका निर्धारित सूचकहरूमध्ये ६२ प्रतिशत उपलब्धि हासिल गरेको जनाएको छ। अस्पतालले आगामी दिनमा उक्त उपलब्धिलाई ८५ प्रतिशतसम्म पुर्याउने लक्ष्य राखेको छ।
इकाइ स्थापना भएको एक वर्ष पूरा भएको अवसरमा आयोजित समीक्षा कार्यक्रममा गुणस्तर सुधार तथा बिरामी सुरक्षा कार्यक्रमका संयोजक डा. पवनराज चालिसेले यस अवधिमा सेवा तथा गुणस्तरसँग सम्बन्धित ४६२ वटा गुनासा प्राप्त भएको र ती गुनासाको कारण विश्लेषण गरी सुधारका ठोस कदम चालिएको जानकारी दिए।
अस्पतालले केही वर्षदेखि अनौपचारिक रूपमा सञ्चालन गर्दै आएको ‘गुणस्तर सुधार तथा बिरामी सुरक्षा’ कार्यक्रमलाई गत वर्ष साउन १५ गतेदेखि औपचारिक रूपमा संस्थागत गरेको हो।
डा. चालिसेका अनुसार अस्पतालको गुणस्तर सुधार मापदण्डअन्तर्गत ६० प्रतिशत उपचार सेवा, २० प्रतिशत प्रशासनिक सुधार र २० प्रतिशत इन्जिनियरिङ तथा सहायक सेवासँग सम्बन्धित सूचक समावेश छन्। यी तीनै क्षेत्रमा उल्लेखनीय सुधार भएको उनले बताए।
सेवा प्रवाहलाई सहज बनाउन अस्पतालले विभिन्न डिजिटल प्रणाली लागू गरेको जनाएको छ। भर्ना भएका बिरामीले क्यूआर कोड स्क्यान गरी औषधि आफ्नै शय्यासम्म प्राप्त गर्ने व्यवस्था सुरु गरिएको छ। त्यस्तै, बिल स्क्यान गरी आफ्नै रिपोर्ट प्रिन्ट गर्न सक्ने सुविधा, रगतको नमुना संकलन केन्द्रमा बिल भुक्तानीसँगै बिरामीको विवरण स्वतः उपलब्ध हुने प्रणाली, ओपिडी सेवा व्यवस्थापन, क्यास काउन्टर तथा फार्मेसी विस्तारलगायतका सुधारका काम सम्पन्न भएका छन्।

अस्पतालका विभिन्न भवनमा क्यान्टिन विस्तार, क्यान्टिन सेवाको स्तरोन्नति, शौचालय सरसफाइ तथा अन्य आधारभूत सुविधामा पनि सुधार गरिएको अस्पतालले जनाएको छ।
आगामी चरणमा सम्पूर्ण बिरामीको मेडिकल रेकर्डलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने, ओपिडी टिकट लिएपछि समय निर्धारण गरी सेवा लिन सकिने व्यवस्था लागू गर्ने, टिकट व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने, खानेपानी र शौचालयको थप सुधार गर्ने तथा कुरुवाका लागि पर्याप्त बस्ने व्यवस्था गर्ने योजना अघि बढाइएको डा. चालिसेले जानकारी दिए।
यद्यपि सुधारका प्रयासका बाबजुद अस्पतालको पुरानो भौतिक संरचनाले अन्तर्राष्ट्रिय स्तरको गुणस्तर मापदण्ड पूर्ण रूपमा कार्यान्वयन गर्न चुनौती सिर्जना गरेको उनले बताए।
उनका अनुसार शौचालय विस्तार, आकस्मिक कक्षबाट समयमै बिरामी भर्ना गर्न सक्ने क्षमता अभिवृद्धि तथा आईसीयू र हाई डिपेन्डेन्सी युनिटबाहेक अन्य वार्डमा बिरामीको अनुपातअनुसार चिकित्सक र नर्स व्यवस्थापन गर्न नसक्नु गुणस्तरीय सेवा विस्तारका प्रमुख चुनौती हुन्।
अन्तर्राष्ट्रिय स्तरको विशिष्टीकृत सेवा विस्तारका लागि सरकारले टिचिङ अस्पताललाई जनरल अस्पतालका रूपमा सञ्चालन गर्दै बल्खुस्थित करिब २५० रोपनी जग्गामा अत्याधुनिक भवन निर्माण गर्नुपर्ने प्रस्ताव सरकारसमक्ष राखिएको डा. चालिसेले बताए।

उनले नयाँ पूर्वाधार निर्माण भए कलेजो तथा मिर्गौला प्रत्यारोपण, मुटुरोग उपचारलगायत विशिष्टीकृत सेवा थप प्रभावकारी रूपमा सञ्चालन गर्न सकिने र त्यसपछि मात्र पूर्ण गुणस्तरीय सेवा तथा बिरामी सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न सम्भव हुने बताए।
कार्यक्रममा टिचिङ अस्पतालका निर्देशक डा. सुवास प्रसाद आचार्यले विगत पाँच दशकसम्म सरकारी अस्पतालमा उपचारको पहुँच विस्तारलाई प्राथमिकता दिइएको भए पनि अब सेवा गुणस्तर र बिरामी सुरक्षालाई केन्द्रमा राख्नुपर्ने समय आएको बताए।
उनले सरकारी अस्पताललाई नमुना संस्थाका रूपमा विकास गर्ने उद्देश्यले गुणस्तर सुधार कार्यक्रम अघि बढाइएको उल्लेख गर्दै आगामी दिनमा यसलाई अझ प्रभावकारी बनाइने बताए।
त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा प्रतिष्ठानका डिन डा. मोहनराज शर्माले गुणस्तरीय सेवा र बिरामी सुरक्षाको सुनिश्चिततासँगै टिचिङ अस्पताल दक्षिण एसियाकै उत्कृष्ट स्वास्थ्य संस्थामध्ये एक बन्न सक्ने बताए।
उनका अनुसार बिरामी सुरक्षाको अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न सके नेपालमा मेडिकल टुरिजम प्रवर्द्धन गर्ने ठूलो सम्भावना रहेको छ। चिकित्सा शिक्षा क्याम्पसका प्रमुख डा. सुरेन्द्र उप्रेतीले गुणस्तरीय उपचार र बिरामी सुरक्षाले उपचारको लागतसमेत घटाउने उल्लेख गर्दै सही बिरामीलाई सही समयमा सही सेवा उपलब्ध गराउनु नै गुणस्तर प्रवर्द्धन र बिरामी सुरक्षाको मूल सिद्धान्त भएको बताए।