काठमाडौं- नेपाल नर्सिङ संघले सरकारले नर्सहरूका सेवा–सुविधासम्बन्धी यसअघि भएका सहमति तत्काल कार्यान्वयन गर्न तथा अनसनरत नर्स ज्योति रानाभाटको जीवनरक्षाका लागि आवश्यक पहल गर्न सरकारसँग आग्रह गरेको छ।
संघले शुक्रबार जारी गरेको विज्ञप्तिमा देशभरका सरकारी, गैरसरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सहरूको सेवा–सुविधा र पेशागत अधिकारका विषयमा पटक–पटक आन्दोलन गर्दै आएको उल्लेख गरेको छ।
विज्ञप्तिअनुसार नर्सहरूले २०८२ कात्तिक ४ गतेदेखि तलब, भत्ता तथा अन्य पेशागत माग राख्दै देशव्यापी आन्दोलन गरेका थिए। त्यसपछि २०८२ कात्तिक १५ गते तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि, नेपाल नर्सिङ संघ तथा अन्य सरोकारवालाबीच भएको सहमतिअनुसार तलब, भत्ता र अन्य सुविधासम्बन्धी विषय हालसम्म पूर्ण रूपमा कार्यान्वयन नभएको संघको भनाइ छ।
संघले ती सहमतिहरू यथाशीघ्र कार्यान्वयन गर्न सरकारसँग जोडदार माग गरेको छ।
त्यसैगरी, आफ्ना विभिन्न मागसहित नर्स ज्योति रानाभाट साउन १४ गतेदेखि आमरण अनसनमा बसेको उल्लेख गर्दै संघले उनको जीवनरक्षाका लागि तत्काल पहल गर्न सरकारसँग आग्रह गरेको छ।
नेपाल नर्सिङ संघका महासचिव डा. देवका कुमारी आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकारसँग नर्सहरूका जायज माग सम्बोधन गर्दै अनसनरत रानाभाटको स्वास्थ्य र जीवनरक्षाका लागि आवश्यक कदम चाल्न अपिल गरिएको छ।
विज्ञप्तिमा नर्सहरूको पेशागत अधिकार, सेवा–सुविधा र कार्य वातावरणमा सुधार नगरी गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न नसकिने उल्लेख गर्दै सरकारले यस विषयलाई गम्भीर रूपमा लिनुपर्नेमा जोड दिइएको छ।