काठमाडौं- काठमाडौंको धुम्बाराहीस्थित नेशनल कलेजले व्यवहारिक मनोविज्ञानका विविध विधाहरूमा केन्द्रित भई अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ।
सम्मेलनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै कलेजका प्रिन्सिपल माधवप्रसाद न्यौपानेले मनोविज्ञान तथा मनोसामाजिक क्षेत्रमा व्यापक कार्य गर्नुपर्ने आवश्यकता रहेको बताए। सोही आवश्यकतालाई सम्बोधन गर्न बृहत् छलफल र अन्तरक्रियाका लागि अगस्ट ६ देखि ८ सम्म (तीन दिने) अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागिएको उनले जानकारी दिए।
'कोभिड-१९ पछि मनोसामाजिक क्षेत्रमा फरक प्रकृतिका समस्याहरू देखिन थालेका छन्। यी समस्या उत्पन्न हुनुका कारण र सम्भावित समाधानका उपायहरूबारे सम्मेलनमा व्यापक छलफल हुनेछ,' उनले भने।
सम्मेलनका फोकल पर्सन एवं मनोविद् डा. नरेन्द्रसिंह ठगुन्नाका अनुसार उक्त कार्यक्रममा २२ देशका मनोविज्ञान क्षेत्रमा कार्यरत २४५ जना ख्यातिप्राप्त विज्ञहरूको सहभागिता रहनेछ भने १६४ वटा अनुसन्धानपत्र प्रस्तुत गरिनेछ।
कलेजका भाइस प्रिन्सिपल तथा आयोजक समितिका सदस्य छत्र कार्कीले सम्मेलनमा प्रस्तुत हुने उत्कृष्ट अनुसन्धानपत्र तथा अनुसन्धानलाई अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशन गरिने जानकारी दिए। सम्मेलनमा मानसिक स्वास्थ्य, मनोविज्ञान, मनोसामाजिक पक्ष, चिन्ता, निराशापन लगायतका विषयमा क्रियाशील विज्ञ, युवा तथा यसै क्षेत्रमा अध्ययनरत विद्यार्थीहरूको बाक्लो सहभागिता रहने जनाइएको छ।