काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सत्याग्रहमा रहेकी ज्योति रानाभाटका माग र स्वास्थ्य अवस्थाप्रति आफू गम्भीर रूपमा संवेदनशील रहेको बताएकी छन्।
सोमबार जारी गरेको वक्तव्यमा मन्त्री मेहताले आफू स्वास्थ्यकर्मीसमेत भएकाले रानाभाटको स्वास्थ्य अवस्था र उनका मागप्रति विशेष चासो रहेको उल्लेख गर्दै समस्याको समाधान संवादबाटै सम्भव हुने विश्वास व्यक्त गरिन्।
उनका अनुसार मन्त्रालयले सुरुदेखि नै वार्ता समिति, अतिरिक्त सचिव, सचिव तथा सम्बन्धित निकायमार्फत पटक–पटक संवाद र समन्वयको प्रयास गर्दै आएको छ। यस विषयमा स्वास्थ्य तथा शिक्षा सम्बन्धी संसदीय समितिका सभापतिले समेत निरन्तर वार्ताको पहल गरिरहेको उनले बताइन्।
मन्त्री मेहताले गत साता सुनसरीमा भएको दुःखद घटनापछि त्यसको व्यवस्थापन, पीडित परिवारसँग समन्वय तथा स्थानीय अवस्था सामान्य बनाउन आवश्यक पहलका लागि आफू हाल सुनसरीमै रहेको जानकारी दिइन्। उनले त्यहाँको अवस्था अझै पूर्ण रूपमा सामान्य नभएकाले आफ्नो उपस्थिति आवश्यक रहेको स्पष्ट पारिन्।
यद्यपि, सत्याग्रहको विषयलाई सरकारले निरन्तर प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री मेहताले सोमबार पनि सम्बन्धित पक्षसँग पुनः वार्ताको तयारी भइरहेको र सबै पक्षको सहयोगमा सकारात्मक निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरिन्।