काठमाडौं- नर्सिङ अभियन्ता तथा नर्स संघर्ष समिति संयोजक ज्योति रानाभाटले स्वास्थ्यकर्मीहरूको पेशागत हकहित, अधिकार, सम्मान, सुरक्षा र सेवा–सुविधाको सुनिश्चितताका लागि जारी राखेको सत्याग्रह चौथो दिनमा प्रवेश गर्दा उनको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक बन्दै गएको भन्दै पाँच स्वास्थ्यकर्मी संस्थाले गहिरो चिन्ता व्यक्त गरेका छन्।
सोमबार जारी संयुक्त प्रेस विज्ञप्तिमा संस्थाहरूले रानाभाटले उठाएका मागहरू केवल नर्सिङ पेशासँग सीमित नभई समग्र स्वास्थ्यकर्मीहरूको सम्मान, अधिकार, सुरक्षा, सेवा–सुविधा र पेशागत भविष्यसँग जोडिएका साझा तथा न्यायोचित विषय भएको उल्लेख गरेका छन्। स्वास्थ्यकर्मीहरूको सम्मान, सुरक्षा र पेशागत सुनिश्चितताबिना गुणस्तरीय, प्रभावकारी र सुरक्षित स्वास्थ्य सेवाको परिकल्पना गर्न नसकिने उनीहरूको भनाइ छ।
विज्ञप्तिमा सत्याग्रहका क्रममा रानाभाटको स्वास्थ्य अवस्था गम्भीर बन्दै जाँदा पनि नेपाल सरकार र सम्बन्धित निकाय मौन, उदासीन र बेवास्तापूर्ण देखिएको आरोप लगाइएको छ। मागहरूको सम्बोधनमा थप ढिलाइ भए त्यसबाट उत्पन्न हुन सक्ने गम्भीर परिस्थितिको जिम्मेवारी सम्बन्धित निकायले नै लिनुपर्ने चेतावनी पनि दिइएको छ।
संयुक्त संघर्ष समितिले रानाभाटको सत्याग्रहप्रति पूर्ण संस्थागत ऐक्यबद्धता जनाउँदै सरकारसँग तत्काल सार्थक संवाद, ठोस पहल तथा न्यायोचित मागहरूको सम्मानजनक र प्रभावकारी कार्यान्वयन गर्न जोडदार माग गरेको छ। साथै, २०८२ सालको आमरण अनशनपछि भएको सहमति पनि यथाशीघ्र कार्यान्वयन गर्न आग्रह गरिएको छ।
विज्ञप्तिमा गुणस्तरीय स्वास्थ्य सेवा, स्वास्थ्यकर्मीहरूको सम्मान, अधिकार, सुरक्षा तथा पेशागत हकहितको सुनिश्चितताका लागि आफूहरू एकताबद्ध भएर निरन्तर संघर्षरत रहने प्रतिबद्धता व्यक्त गरिएको छ।
