काठमाडौं — अनसनरत नर्स ज्योति रानाभाटको आमरण अनसन छैटौं दिन पनि जारी छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रानाभाट पक्षका प्रतिनिधि र मन्त्रालयबीच वार्ता भए पनि सहमति जुट्न सकेन।
वार्ताका क्रममा रानाभाट पक्षका कानुन व्यवसायीले सहमतिको मस्यौदा तयार गर्ने प्रयास गरेका थिए। तर कार्यान्वयनको स्पष्ट प्रत्याभूति नभएको भन्दै रानाभाट पक्षका अन्य प्रतिनिधिले उक्त मस्यौदामा सहमति जनाएनन्।
सहमतिको मस्यौदामाथि मंगलबार पनि छलफल जारी रहने बताइएको छ। वार्तामा रानाभाटको तर्फबाट जीता बराल, कल्पना रिजाल, कविता सिटौला र इन्द्रप्रसाद अर्याल सहभागी थिए।
मन्त्रालयका तर्फबाट स्वास्थ्य सचिव डा. विकास देवकोटा, अतिरिक्त सचिव डा. सङ्गीता मिश्र, स्वास्थ्यमन्त्रीका प्रमुख सल्लाहकार डा. मनोहर प्रधान तथा कानुन शाखाका प्रतिनिधिहरू सहभागी थिए।
रगत परीक्षण रोकिएको आरोप
आईसीयूमा उपचाररत रानाभाटको नियमित रगत परीक्षणसमेत रोकिएको आरोप उनका समर्थकहरूले लगाएका छन्। उनीहरूका अनुसार सरकारी अस्पतालमा उपचार भइरहेकै अवस्थामा शुल्क नतिरेको भन्दै अस्पताल प्रशासनले रगत परीक्षण रोकेको थियो।
समर्थकहरूले आवश्यक शुल्क बुझाएपछि मात्रै रगत परीक्षण गरिएको उनीहरूको दाबी छ