काठमाडौं — इन्टर्न चिकित्सकहरूको पारिश्रमिक र श्रमको सम्मानलगायतका माग कार्यान्वयन गर्न दबाब दिँदै इन्टर्न चिकित्सक डिल्ली हरिजन मंगलबारदेखि माइतीघर मण्डलामा आमरण अनसनमा बसेका छन्।
हरिजनले मंगलबार बिहान १०:२५ बजेदेखि आमरण अनसन सुरु गरेको जानकारी दिँदै यो निर्णय व्यक्तिगत स्वार्थ वा आवेगका कारण नभई चार महिनादेखि सम्बोधन हुन नसकेका न्यायोचित मागका कारण लिन बाध्य भएको बताएका छन्।
उनका अनुसार इन्टर्न चिकित्सकहरूले विगत करिब चार महिनादेखि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, चिकित्सा शिक्षा आयोग (MEC), सांसद तथा सम्बन्धित निकायहरूसँग निरन्तर संवाद गर्दै आएका भए पनि ठोस निर्णय हुन सकेको छैन।
हरिजनले शिक्षा तथा खेलकुद मन्त्रीको अध्यक्षतामा गठित कार्यदलले तयार पारेको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न माग गरेका छन्। उनले इन्टर्न चिकित्सकहरूले कुनै अतिरिक्त सुविधा नभई ‘समान कामको समान पारिश्रमिक’, श्रमको सम्मान र कार्यदलको सिफारिस कार्यान्वयनको माग मात्र राखेको बताए।
उनले चिकित्सा शिक्षा आयोगका अध्यक्ष प्रधानमन्त्री, सह-अध्यक्ष शिक्षा तथा खेलकुद मन्त्री, सह-अध्यक्ष स्वास्थ्य मन्त्री तथा आयोगका पदाधिकारीसँग पटक–पटक छलफल र अनुरोध गरिए पनि करिब १२० दिन बितिसक्दा पनि निर्णय हुन नसकेको आरोप लगाए।
हरिजनले सरकारले निजी मेडिकल कलेजहरूको दबाबका कारण इन्टर्न चिकित्सकहरूको माग ओझेलमा पारेको हो कि भन्ने प्रश्नसमेत उठाएका छन्। उनका अनुसार हजारौँ इन्टर्न चिकित्सक र मेडिकल विद्यार्थीको भविष्य अन्योलमा परेको छ।
उनले सरकारलाई कार्यदलको प्रतिवेदनका आधारमा तत्काल निर्णय गरी कार्यान्वयन प्रक्रिया अघि बढाउन आग्रह गर्दै वरिष्ठ चिकित्सक, नेपाल मेडिकल एसोसिएसन (एनएमए), नेपाल मेडिकल काउन्सिल (एनएमसी), एमबीबीएस तथा बीडीएस इन्टर्न, मेडिकल विद्यार्थी, सञ्चारमाध्यम र न्यायप्रेमी नागरिकसँग ऐक्यबद्धता र नैतिक समर्थनको अपिल गरेका छन्।
इन्टर्न चिकित्सकहरूको आन्दोलनले स्वास्थ्य क्षेत्रमा जारी विरोधका कार्यक्रमबीच अर्को आमरण अनसन थपिएको छ। नर्स ज्योति रानाभाट ६ दिनदेखि अनसनरत छिन् भने डा गोविन्द केसीले अघिल्लो हप्ता मात्रै अनसन तोडेका छन्।