काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य सेवालाई थप सुलभ, प्रभावकारी र गुणस्तरीय बनाउन सरकार उच्च प्राथमिकताका साथ अघि बढिरहेको बताएकी छन् ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग सम्बन्धित विषयमा प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले स्वास्थ्य सेवा सुधार, आकस्मिक उपचार, सर्पदंश तथा रेबिजविरुद्धको खोप आपूर्ति, स्वास्थ्य बीमा सुधार र रोग नियन्त्रणका क्षेत्रमा सरकारले काम गरिरहेको जानकारी दिइन्।
सुनसरीमा भएको घटनाका घाइतेहरूको उपचारका लागि मन्त्रालयले प्रदेश अस्पतालहरूसँग समन्वय गरेको उनले बताइन् । गम्भीर अवस्थाका बिरामीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याई राष्ट्रिय ट्रमा सेन्टर तथा त्रिवि शिक्षण अस्पतालमा उपचारको व्यवस्था मिलाइएको उनको भनाइ छ।
मन्त्री मेहताका अनुसार सुनसरी घटनाका घाइते अमित कुमार यादव र जनकपुर घटनाका घाइते आनन्द दासको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । दुवैजनाको स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको उनले जानकारी दिइन् ।
सुनसरीका घाइते रविन्द्र मेहतालाई पनि हेलिकप्टरमार्फत काठमाडौं ल्याई त्रिवि शिक्षण अस्पतालमा विशेषज्ञ चिकित्सकको निगरानीमा उपचार गरिए पनि उनको निधन भएको जानकारी प्राप्त भएको मन्त्री मेहताले सदनलाई जानकारी गराइन्।
सर्पदंशको खोप १ हजार २६९ भाइल मौज्दात
मन्त्री मेहताले देशभर सर्पदंश उपचारका लागि आवश्यक खोपको मौज्दात रहेको जानकारी दिइन् । स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार केन्द्रीय स्टोरमा १३८ भाइल, प्रादेशिक स्वास्थ्य आपूर्ति केन्द्रमा ४४४ भाइल, स्वास्थ्य कार्यालयमा २२२ भाइल र सर्पदंश उपचार केन्द्रमा ४६५ भाइल गरी कुल १ हजार २६९ भाइल खोप मौज्दात रहेको उनले बताइन् ।
उक्त मौज्दातबाट विषको लक्षण भएका तथा नभएका गरी करिब ८५० जना बिरामीको उपचार गर्न सकिने प्राविधिक आकलन गरिएको छ । साथै, स्वास्थ्य सेवा विभागले सर्पदंश उपचारका लागि आवश्यक थप १३ हजार २०० भाइल खोप खरिद प्रक्रिया अघि बढाएको र साउन मसान्तसम्म आपूर्ति हुने व्यवस्था मिलाइएको मन्त्री मेहताले बताइन् । दुर्गम क्षेत्रका नागरिकले समेत सहज रूपमा सेवा पाउने व्यवस्था मिलाइएको उनको भनाइ छ ।
रेबिज खोपको अभाव हटाउन २ लाखभन्दा बढी भाइल खरिद हुँदै
रेबिजविरुद्धको खोपको अभाव हटाउन २ लाखभन्दा बढी भाइल खोप खरिद प्रक्रिया अघि बढाइएको मन्त्री मेहताले जानकारी दिइन् । उक्त खोप स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखामा उपलब्ध भएपछि प्रदेशस्तरमा वितरण गरिने उनले बताइन् ।
स्वास्थ्य बीमा सुधारमा जोड
स्वास्थ्य उपचारका क्रममा नागरिकमाथि पर्ने आर्थिक जोखिम न्यूनीकरण गर्न स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित बनाउने काम भइरहेको मन्त्री मेहताले बताइन् ।
स्वास्थ्य बीमाको दिगोपना सुनिश्चित गर्न आकस्मिक सेवा उपचार प्याकेज परिमार्जनको काम भइरहेको, प्रविधिमैत्री दाबी भुक्तानी प्रणाली विकास गर्न तथा कोपेमेन्ट व्यवस्थाको अवलोकन, अनुगमन र मूल्यांकनमा जोड दिइएको उनले बताइन् ।
स्वास्थ्य बीमाको आर्थिक भार कम गर्न सुविधा थैलीको दररेट पुनरावलोकन गरी परिमार्जन गरिएको उनले जानकारी दिइन् । संगठित संस्थालाई समेत स्वास्थ्य बीमा कार्यक्रममा समावेश गर्न कार्यविधिको मस्यौदामाथि छलफल भइरहेको उनको भनाइ छ ।
मन्त्री मेहताका अनुसार हालसम्म २५ अर्ब ४८ करोड रुपैयाँभन्दा बढी स्वास्थ्य बीमा दाबी भुक्तानी भइसकेको छ । हालसम्मकै उच्च दाबी भुक्तानी हुनुले स्वास्थ्य बीमा कार्यक्रम सरकारको प्राथमिकतामा रहेको स्पष्ट हुने उनले बताइन् ।
स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउन नीतिगत तथा कानुनी सुधारको काम अघि बढाइएको र यसै साताभित्र मन्त्रालयको वेबसाइटमार्फत राय–सुझाव संकलनका लागि मस्यौदा सार्वजनिक गरिने उनले जानकारी दिइन् ।
डेंगु नियन्त्रणका लागि तीन महिने अभियान
मन्त्री मेहताले डेंगु नियन्त्रण तथा जनचेतना अभिवृद्धिका लागि साउन, भदौ र असोज महिनालाई लक्षित गरी तीन महिने अभियान सञ्चालन गरिएको बताइन् । अभियानमा अन्य मन्त्रालयसँग समेत सहकार्य गरिएको उनले जानकारी दिइन् ।
उनले ट्रमा सेन्टर विस्तारको काम भइसकेको, जलन उपचार सेवा विस्तार गर्ने, मानसिक स्वास्थ्य सेवालाई थप पहुँचयोग्य बनाउने तथा सर्पदंश उपचारका लागि आवश्यक खोपको आपूर्ति सुनिश्चित गर्ने सरकारको योजना रहेको बताइन् ।
स्वास्थ्य सेवा सुधारका लागि सांसदहरूले उठाएका विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताउँदै मन्त्री मेहताले नागरिकलाई सहज, गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार आवश्यक कामलाई उच्च प्राथमिकताका साथ अघि बढाइरहेको स्पष्ट पारिन् ।