काठमाडौं- सरकारले सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन) ऐन, २०६८ संशोधनको प्रक्रिया अघि बढाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले संशोधन विधेयकको मस्यौदा आवश्यक सुझावका लागि आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको हो।
प्रस्तावित संशोधनमा पहिलोपटक विद्युतीय चुरोट (ई–सिगरेट), भेप्स, हिटेड टोबाको, निकोटिन पाउच, निकोटिन साल्ट, ई–जुस/ई–लिक्विड, हुक्का र शिशालाई समेत सुर्तीजन्य पदार्थको परिभाषाभित्र समेटिएको छ। साथै, धूम्रपानको परिभाषा पनि धुँवा मात्र नभई वाफ (भेपर) को रूपमा गरिने सेवनलाई समेत समेट्ने गरी विस्तार गरिएको छ।
मस्यौदाअनुसार सुर्तीजन्य पदार्थको प्याकेट, बट्टा, र्यापर, पार्सल तथा प्याकेजिङमा थप कडाइ गरिने भएको छ। प्याकेजिङमा ट्रेडमार्क, लोगो, ब्रान्ड रङ, प्रवर्द्धनात्मक चिन्ह तथा आकर्षक डिजाइन प्रयोग गर्न नपाइने व्यवस्था प्रस्ताव गरिएको छ। त्यसैगरी ‘लाइट’, ‘अल्ट्रा लाइट’, ‘लो टार’, ‘सुरक्षित’, ‘लक्जरी’, ‘मेन्थोल’, ‘आइस’, ‘चकलेट’ वा ‘स्ट्रबेरी’ जस्ता उपभोक्तालाई भ्रममा पार्न सक्ने शब्द प्रयोग गर्न पनि रोक लगाइने भएको छ।
संशोधन प्रस्तावको अर्को महत्वपूर्ण व्यवस्था चेतावनीमूलक सन्देश र चित्रसँग सम्बन्धित छ। चुरोट, बिँडी, सुर्ती, खैनी, गुट्खालगायत सबै प्रकारका सुर्तीजन्य पदार्थको प्याकेटमा अगाडि, पछाडि तथा अन्य तोकिएका भागमा शतप्रतिशत वा तोकिएको उच्च प्रतिशत क्षेत्रफलमा चेतावनीमूलक चित्र तथा सन्देश राख्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ। मन्त्रालयले प्रत्येक वर्ष फरक–फरक चेतावनीमूलक चित्र निर्धारण गर्न सक्ने र ती चित्र तथा सन्देश नबिग्रने वा नछोपिने गरी छाप्नुपर्ने व्यवस्था पनि गरिएको छ।
सजायसम्बन्धी प्रावधान पनि कडा बनाइएको छ। सार्वजनिक स्थानमा धूम्रपान गर्ने व्यक्तिलाई हालको एक सय रुपैयाँको सट्टा पाँच सय रुपैयाँ जरिवाना प्रस्ताव गरिएको छ। त्यसैगरी विभिन्न कसुरमा लाग्ने जरिवानाको रकम उल्लेख्य रूपमा वृद्धि गरिएको छ।
मस्यौदाअनुसार ई–सिगरेट, भेप्स, हिटेड टोबाको, निकोटिन पाउच, निकोटिन साल्ट, ई–जुस, हुक्का र शिशाको उत्पादन, आयात, बिक्री–वितरण वा भण्डारण गरेमा सम्बन्धित सामग्री जफत गरी पाँच लाखदेखि सात लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
मन्त्रालयले प्रस्तावित संशोधनमाथि सरोकारवालाबाट सुझाव मागेको छ। प्राप्त सुझावका आधारमा विधेयकलाई परिमार्जन गरी मन्त्रिपरिषद् हुँदै संघीय संसदमा पेश गरिने प्रक्रिया अघि बढ्नेछ।