काठमाडौं— विभिन्न माग राख्दै सत्याग्रह (अनशन) मा बसेकी नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार भएको वार्तापछि दुवै पक्षबीच सहमति जुटेसँगै रानाभाटले साउन १४ गतेदेखि सुरु गरेको सत्याग्रह अन्त्य गरेकी छन्।
सहमतिअनुसार सरकारले नर्स तथा मिडवाइफहरूको पारिश्रमिक, सेवा–सुविधा र कार्यशर्त सुधारका लागि सात दिनभित्र कार्यदल गठन गर्ने तथा छ महिनाभित्र प्रतिवेदन पेश गर्ने भएको छ। यस्तै, छात्रवृत्तिमा अध्ययन गरेका नर्स तथा मिडवाइफहरूको योग्यता र विशेषज्ञताअनुसार तह, जिम्मेवारी, सेवा–सुविधा र नेतृत्वको अवसर सुनिश्चित गर्न सम्बन्धित निर्देशिका ३० दिनभित्र संशोधन गरिने उल्लेख छ।
सरकारले सहायक नर्स–मिडवाइफ (एएनएम) लाई प्रवीणता प्रमाणपत्र तह नर्सिङ अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था मिलाउने, आगामी शैक्षिक सत्रदेखि भर्ना नीति कायम गर्ने तथा सबै अस्पतालमा नर्सिङ प्रोसेस, नर्सिङ केयर प्लान, नर्सिङ डकुमेन्टेसन, नर्सिङ इभालुएसन, औषधि व्यवस्थापन, संक्रमण नियन्त्रण, बिरामी सुरक्षा तथा नियमित नर्सिङ अडिट अनिवार्य रूपमा लागू गर्ने प्रतिबद्धता जनाएको छ।
सम्झौतापत्रमा नर्स अभियन्ता ज्योति रानाभाट र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधिले हस्ताक्षर गरेका छन्। सहमतिसँगै रानाभाटले साउन १४ गतेदेखि जारी सत्याग्रह साउन २० गते अन्त्य गरेकी छन्।


