काठमाडौं- नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्री रिजालले आमरण अनशनमा रहेका इन्टर्न चिकित्सक डा. डिल्ली हरिजनका मागहरू जायज रहेको भन्दै तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन्।
अनशनरत डा. हरिजनलाई भेट्न पुगेका अध्यक्ष रिजालले विगतमा शिक्षा मन्त्रालयसँग पटक–पटक भएको सहमति कार्यान्वयन नभएकै कारण फेरि आमरण अनशन बस्नुपर्ने अवस्था सिर्जना हुनु दुःखद भएको बताए।
उनका अनुसार इन्टर्न चिकित्सकहरूले निर्वाह भत्ताका रूपमा रेसिडेन्ट चिकित्सकले पाउने सुविधाको ५० प्रतिशत रकम पाउने सहमति भए पनि विभिन्न शिक्षण संस्थामा १० हजारदेखि २४ हजार रुपैयाँसम्मको असमान व्यवस्था कायम छ। यस्तो विभेद अन्त्य गरी सबै इन्टर्न चिकित्सकलाई समान सुविधा उपलब्ध गराउनुपर्ने माग उचित रहेको उनले बताए।
लामो समयदेखि मन्त्रालय धाउने, सम्बन्धित निकायलाई झक्झक्याउने र सहमति गराउने काम भए पनि त्यसको कार्यान्वयन नहुँदा डा. हरिजन पुनः आमरण अनशन बस्न बाध्य भएको डा. रिजालको भनाइ छ।
उनले एउटै विषयमा पटक–पटक चिकित्सकले आमरण अनशन बस्नुपर्ने अवस्था आउनु राज्यका लागि गम्भीर विषय भएको उल्लेख गर्दै शिक्षा मन्त्रालयलाई सम्बन्धित सबै पक्षसँग छलफल गरी सहमति तत्काल कार्यान्वयन गर्न आग्रह गरे।
डा. रिजालले नेपाल चिकित्सक संघ डा. हरिजनका मागप्रति पूर्ण ऐक्यबद्ध रहेको स्पष्ट पार्दै चिकित्सकहरूको हकहितका लागि बारम्बार आन्दोलनमा उत्रिनुपर्ने अवस्था अन्त्य हुनुपर्ने बताए।
'चिकित्सकहरू सडकमा आउँदा सबैभन्दा बढी असर बिरामीलाई पर्छ, हामी बिरामीले दुःख पाएको हेर्न चाहँदैनौँ,' उनले भने, 'त्यसैले डा. हरिजनको स्वास्थ्य अवस्था थप जटिल हुनुअघि नै सरकारले उहाँका जायज माग सम्बोधन गर्नुपर्छ।'
इन्टर्न चिकित्सकहरूको सेवा–सुविधामा समानता कायम गर्न र विगतका सहमतिहरू कार्यान्वयन गर्न सरकारमाथि दबाब बढिरहेका बेला नेपाल चिकित्सक संघले समेत खुलेर समर्थन जनाएपछि यो विषय थप चर्चामा आएको छ।