वीरगञ्ज- विश्व स्तनपान सप्ताह २०२६ को चौथो दिनको अवसरमा 'ब्रेस्टफिडिङ फर अ सस्टेनेबल स्टार्ट इन लाइफ : स्ट्रेन्थेन ह्वा वर्क्स' भन्ने नारासहित नेशनल मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटल, वीरगञ्जको नर्सिङ विभागद्वारा बालरोग वार्ड परिसरमा जनचेतनामूलक तथा शैक्षिक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन अस्पतालका निर्देशक डा. इशरत जहानले गर्नुभएको थियो।
कार्यक्रमअन्तर्गत शैक्षिक खेलौनाको प्रदर्शनी तथा विश्व स्तनपान सप्ताहसम्बन्धी पोस्टर प्रदर्शनी आयोजना गरिएको थियो। प्रदर्शनीमार्फत बालबालिकाको सिर्जनात्मक क्षमता, बौद्धिक विकास तथा सिकाइमा खेलआधारित शिक्षाको महत्त्वबारे जानकारी गराइएको थियो। साथै, स्तनपानसम्बन्धी पोस्टरमार्फत आमाहरूलाई सही स्तनपान विधि, शिशुलाई सही तरिकाले स्तनपान गराउने उपाय तथा शिशुको स्वस्थ विकासमा स्तनपानको महत्त्वबारे जानकारी प्रदान गरिएको थियो।
कार्यक्रममा गौतम स्कुल, नवदीप एकेडेमी, वीरगञ्ज पब्लिक स्कुल, लिटल बडी तथा चिल्ड्रेन मोन्टेसरीका कक्षा १ देखि ५ सम्मका करिब '७६२ जना विद्यार्थी, शिक्षक तथा अभिभावक' हरूको उत्साहजनक सहभागिता रहेको थियो। विद्यार्थीहरूले शैक्षिक खेलौनाको अवलोकन गर्दै खेलमार्फत सिकाइ, सिर्जनात्मकता तथा बाल विकासका विविध पक्षबारे जानकारी हासिल गरेका थिए।
कार्यक्रमका क्रममा मातृ–शिशु सम्बन्धलाई थप प्रोत्साहन गर्ने उद्देश्यले नवप्रसूता आमाहरूलाई 'बेबी–मदर फोटो फ्रेम' प्रदान गरिएको थियो। यस पहलले अस्पतालमा मातृमैत्री तथा शिशुमैत्री वातावरण प्रवर्द्धन गर्न महत्त्वपूर्ण योगदान पुर्याएको छ।
माता, शिशु, विद्यार्थी, शिक्षक तथा अभिभावकहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी, ज्ञानमूलक तथा उत्साहपूर्ण बनाएको थियो। नर्सिङ विभागले कार्यक्रम सफल बनाउन सहयोग गर्ने अस्पताल प्रशासन, सम्पूर्ण कर्मचारी, सहभागी विद्यालय, शिक्षक, विद्यार्थी, आमाहरू तथा सम्पूर्ण सहयोगीप्रति हार्दिक आभार व्यक्त गरेको छ।


