काठमाडौं- विश्व स्तनपान सप्ताहको अवसरमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले स्तनपानको महत्वबारे जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ।
प्रत्येक वर्ष अगस्ट १ देखि ७ सम्म मनाइने विश्व स्तनपान सप्ताह यस वर्ष ‘दिगो जीवनको स्वस्थ सुरुवात, प्रभावकारी स्तनपानका लागि सबैको साथ’ भन्ने नाराका साथ नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ। सोही अवसरमा अस्पतालले चिकित्सक, नर्स तथा कर्मचारीलाई स्तनपानका फाइदा र यसको सही अभ्यासबारे जानकारी गराएको हो।
कार्यक्रममा अस्पतालकी बालरोग तथा नवजात शिशुरोग विशेषज्ञ डा. रमिता श्रेष्ठले आमाको दूध नवजात शिशुका लागि ‘अमृत समान’ र सम्पूर्ण पौष्टिक आहार भएको बताइन्।
उनका अनुसार आमाको दूधमा शिशुको वृद्धि–विकासका लागि आवश्यक सम्पूर्ण पोषक तत्त्व पाइन्छ। दूधमा रहेको इम्युनोग्लोबुलिनले शिशुको रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकाले निमोनिया, झाडापखाला लगायत विभिन्न संक्रमणबाट जोगाउन मद्दत पुग्छ। स्तनपानले बालबालिकाको बौद्धिक तथा मानसिक विकासमा समेत दीर्घकालीन सकारात्मक प्रभाव पार्ने उनले बताइन्।
डा. श्रेष्ठले शिशु जन्मिएको एक घण्टाभित्रै स्तनपान सुरु गर्नुपर्ने र जन्मेदेखि ६ महिनासम्म आमाको दूधबाहेक पानी वा अन्य कुनै पनि खानेकुरा नदिनुपर्ने बताइन्। ६ महिना पुगेपछि पोसिलो र नरम पूरक आहार सुरु गर्दै कम्तीमा दुई वर्षसम्म स्तनपानलाई निरन्तरता दिनुपर्ने उनको सुझाव छ। उनका अनुसार शिशुको मागअनुसार २४ घण्टामा ८ देखि १० पटकसम्म स्तनपान गराउनु उपयुक्त हुन्छ।
धेरै आमाले स्तनपान गराउँदा स्तन दुख्ने, घाउ हुने वा दूध कम आउने समस्या भोग्ने गरे पनि यसको मुख्य कारण सही तरिकाले स्तनपान नगराउनु रहेको उनले बताइन्। आमाले पर्याप्त पोषिलो खाना खाने, झोलिलो पदार्थ प्रशस्त सेवन गर्ने र मानसिक तनावबाट टाढा रहने हो भने दूधको उत्पादन बढ्ने उनले जानकारी दिइन्।
उनले स्तनपान गराउनु आमाको मात्र नभई परिवार, समाज र राज्यको साझा जिम्मेवारी भएको उल्लेख गरिन्।
डा. श्रेष्ठले नेपाल सरकारले सुत्केरी आमालाई हाल करिब तीन महिनाको बिदा उपलब्ध गराउँदै आए पनि नवजात शिशुको आवश्यकतालाई हेर्दा त्यो पर्याप्त नभएको बताइन्। शिशुलाई ६ महिनासम्म पूर्ण स्तनपान गराउनुपर्ने भएकाले मातृत्व बिदा कम्तीमा ६ महिनासम्म पुर्याउन आवश्यक रहेको उनको भनाइ छ।
उनका अनुसार मातृत्व बिदा बढाउँदा आमा र शिशु दुवैको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्नेछ। 'आमाको दूध बच्चाको अधिकार मात्र होइन, उसको स्वस्थ जीवनको सुरुवातको आधार पनि हो,' उनले बताइन्।