काठमाडौं- नेपाल नेत्र ज्योति संघ (एनएनजेएस), थाइल्यान्डकी डा. निताया फानुफाक र भारतका डा. के. सुरेश कुमार र लाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड २०२६ प्रदान गरिने भएको छ।
यो अवार्ड जनस्वास्थ्य क्षेत्रमा दीर्घकालीन प्रभाव पार्ने नवप्रवर्तन, समानता र समुदायको सहभागितामार्फत स्वास्थ्य सेवामा उल्लेखनीय सुधार ल्याउने व्यक्ति तथा संस्थालाई प्रदान गरिन्छ।
डा. नितायालाई एसिया–प्रशान्त क्षेत्रमा एचआईभी रोकथाम तथा स्वास्थ्य सेवा प्रवाहका नवीन र समानतामूलक मोडल विकास गरी नीति र अभ्यासमा प्रभाव पारेको योगदानका लागि सम्मान गर्न लागिएको हो। डा. कुमारले समुदायको स्वामित्वमा आधारित मोडलमार्फत विभिन्न देशमा समुदायमा आधारित प्यालिएटिभ केयर (जीवनको अन्तिम चरणमा दिइने समग्र हेरचाह) को विस्तारमा पुर्याएको योगदानका लागि अवार्ड पाउनेछन्। नेपाल नेत्र ज्योति संघलाई भने समानतामूलक र जनकेन्द्रित आँखा स्वास्थ्य सेवामार्फत लाखौं मानिसको दृष्टि पुनर्स्थापना गर्दै नेपालमा रोकथाम गर्न सकिने अन्धोपन उल्लेखनीय रूपमा घटाउन गरेको योगदानका लागि सम्मान गरिनेछ।
अवार्डका विजेतालाई बधाई दिँदै डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालयका कार्यवाहक प्रमुख डा. क्याथरिना बोएमेले नवप्रवर्तन, समानता र समुदायको सहभागिताले स्वास्थ्य परिणाममा परिवर्तन ल्याउन सक्ने बताएकी छन्।
उनका अनुसार, तीनै विजेताले स्वास्थ्य प्रणालीलाई बलियो बनाउँदै गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने तथा नीति निर्माणमा प्रभाव पार्ने स्थानीय समाधानको शक्ति प्रदर्शन गरेका छन्। उनीहरूको नेतृत्वले क्षेत्रीय र विश्वव्यापी रूपमा स्वास्थ्य सुधारका लागि नवीन अभ्यासलाई प्रेरित गरेको र दीर्घकालीन जनस्वास्थ्य प्रभाव सिर्जना गर्न स्थानीय पहलले महत्वपूर्ण भूमिका खेल्न सक्ने देखाएको डब्लुएचओले जनाएको छ।
नेपाल नेत्र ज्योति संघ
नेपाल नेत्र ज्योति संघले समानतामूलक र जनकेन्द्रित आँखा स्वास्थ्य सेवामार्फत लाखौं मानिसको दृष्टि पुनर्स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेको छ। संघको निरन्तर प्रयासले नेपालमा रोकथाम गर्न सकिने अन्धोपन घटाउन उल्लेखनीय योगदान पुगेको डब्लुएचओले जनाएको छ।
समुदायमा आधारित तथा जनकेन्द्रित आँखा उपचार सेवाको विस्तारमार्फत संघले देशका विभिन्न क्षेत्रमा आँखासम्बन्धी उपचार तथा रोकथाम सेवाको पहुँच बढाउँदै आएको छ।
डा. निताया फानुफाक
थाइल्यान्डस्थित इन्सिच्युट अफ एचआईभी रिसर्च एन्ड इन्नोभेसनकी कार्यकारी निर्देशक डा. निताया फानुफाकले २५ वर्षभन्दा बढी समयदेखि एचआईभी रोकथाम, क्लिनिकल अनुसन्धान तथा स्वास्थ्य सेवा प्रवाहका क्षेत्रमा काम गर्दै आएकी छन्।
उनले ‘प्रिन्सेस पीआरपी’ कार्यक्रम तथा एसिया–प्रशान्त क्षेत्रकै पहिलो ट्रान्सजेन्डर नेतृत्वको स्वास्थ्य केन्द्रलगायत एचआईभी रोकथाम र सेवा प्रवाहका नवीन तथा समानतामूलक मोडल विकास गरेकी छन्।
उनको कामले थाइल्यान्डको राष्ट्रिय एचआईभी नीति तथा क्षेत्रीय र विश्वव्यापी स्वास्थ्य मार्गदर्शनमा प्रभाव पारेको छ। साथै, जोखिममा रहेका प्रमुख समुदायमा एचआईभी रोकथाम तथा उपचार सेवाको पहुँच विस्तार गर्न र समुदायको नेतृत्वमा सञ्चालित कार्यक्रमले एचआईभीलाई जनस्वास्थ्य चुनौतीका रूपमा अन्त्य गर्ने प्रयासलाई तीव्र बनाउन सक्ने देखाएको डब्लुएचओले जनाएको छ।
डा. के. सुरेश कुमार
भारतको कोझिकोडस्थित इन्सिच्युछ अफ प्यालिएभटिभ मेडिसिनका संस्थापक डा. के. सुरेश कुमारले तीन दशकभन्दा बढी समयदेखि प्यालिएटिभ केयरको विकासमा नेतृत्व गर्दै आएका छन्।
उनले स्वयंसेवक, स्थानीय सरकार र प्राथमिक स्वास्थ्य सेवाबीचको समन्वयमा आधारित अन्तर्राष्ट्रिय रूपमा चर्चित ‘केरला मोडेल’ विकास गरेका हुन्। समुदायको स्वामित्वमा आधारित यो मोडलले सस्तो, दिगो र मानवीय प्यालिएटिभ केयर सेवा विस्तारमा महत्वपूर्ण योगदान पुर्याएको छ।
यो मोडलमार्फत केरलामा प्यालिएटिभ केयरको पहुँच करिब ६० प्रतिशत जनसंख्यासम्म पुगेको छ, जबकि भारतभर यस्तो पहुँच २ प्रतिशतभन्दा कम रहेको डब्लुएचओले जनाएको छ।
केरला मोडल बंगलादेश, श्रीलंका, थाइल्यान्ड, म्यानमार, इन्डोनेसिया, टिमोर–लेस्ते र भुटानमा समेत अपनाइएको छ। यसले समुदायको सक्रिय सहभागिताबाट गुणस्तरीय प्यालिएटिभ केयरको पहुँच विस्तार गर्न सकिने देखाएको छ।
डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्डको यो दोस्रो संस्करण हो। यसले दक्षिण–पूर्वी एसिया क्षेत्रमा जनस्वास्थ्य सुधारमा दीर्घकालीन र उल्लेखनीय योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई सम्मान गर्छ।
यस वर्ष दक्षिण–पूर्वी एसिया क्षेत्रबाट कुल १०२ वटा मनोनयन प्राप्त भएका थिए। वरिष्ठ डब्लुएचओका अधिकारीहरू सम्मिलित छनोट समितिले प्रतिस्पर्धात्मक प्रक्रियामार्फत विजेताको छनोट गरेको हो।
मनोनयनको मूल्यांकन जनस्वास्थ्यमा परेको प्रभाव, नवप्रवर्तन, विस्तार गर्न सकिने क्षमता, दिगोपन र समानताका आधारमा गरिएको थियो।
अवार्ड सेप्टेम्बर २०२६ मा टिमोर–लेस्तेको डिलीमा आयोजना हुने डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिको ७९औँ अधिवेशनका क्रममा प्रदान गरिनेछ।