कालीकोट — कालीकोटको पलाँता गाउँपालिका–९ थिर्पुस्थित पलाँता अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि कुटपिट तथा अस्पतालमा तोडफोड भएपछि अस्पताल अनिश्चितकालका लागि बन्द गरिएको छ।
शुक्रबार दिउँसो अस्पतालभित्रै मेडिकल अफिसर डा. अली हैदर रैन र स्टाफ नर्स शान्ता गिरीमाथि स्थानीय व्यक्तिहरूले हातपात गरेको अस्पताल प्रशासनले जनाएको छ।
अस्पताल प्रशासनका अनुसार स्थानीय मैना बमका दुई छोरासहित केही व्यक्ति अस्पतालको ओपीडी अगाडि बसेर अस्पतालको वाइफाइ प्रयोग गरी मोबाइलमा भिडियो गेम खेलिरहेका थिए।
स्वास्थ्य सेवा प्रभावित हुने भन्दै डा. रैन र नर्स गिरीले उनीहरूलाई अस्पतालबाहिर गएर मोबाइल चलाउन आग्रह गरेका थिए। त्यसपछि विवाद सुरु भएको र सुरक्षा गार्डले उनीहरूलाई अस्पताल परिसरबाट बाहिर निकाल्न खोज्दा चिकित्सक तथा नर्समाथि हातपात भएको अस्पताल प्रशासनको भनाइ छ।
-1786256192.jpeg)
घटनामा डा. रैनको आँखाको डिलमा चोट लागेको छ भने नर्स गिरीको पिठ्युँ, निधार र अनुहारमा चोट लागेको जनाइएको छ।
महोत्तरी घर भएका डा. रैन करिब १६ महिनादेखि करार सेवामा पलाँता अस्पतालमा कार्यरत छन्।
घटनाका क्रममा अस्पतालका सामानमा समेत तोडफोड भएको प्रहरीको भनाइ छ। अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि हातपात भएपछि सुरक्षित वातावरणमा सेवा सञ्चालन गर्न नसकिएको भन्दै अस्पताल अनिश्चितकालका लागि बन्द गरिएको जनाइएको छ।
चिकित्सक तथा नर्समाथि अभद्र व्यवहार र अस्पतालमा अनधिकृत रूपमा प्रवेश गरी सामान तोडफोड गरेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार २०८३ साल साउन २२ गते भएको घटनामा संलग्न आरोपमा तीन जनालाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेकाहरूमाथि जिल्ला प्रहरी कार्यालय कालीकोटमा अनुसन्धान भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुरेश खत्रीले घटनाबारे अनुसन्धान जारी रहेको जानकारी दिएका छन्।
घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रास्कोटबाट प्रहरी निरीक्षक सत्यनारायण चौधरीको कमान्डमा प्रहरी टोलीसमेत परिचालन गरिएको प्रहरीले जनाएको छ।
अस्पतालमै चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हातपात भएपछि पलाँता क्षेत्रमा स्वास्थ्य सेवा प्रभावित भएको छ।