जनकपुरधाम - जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत इन्टर्न चिकित्सकहरूले आफ्नो अधिकार माग्दा व्यवस्थापनबाट धम्की र अपमानजनक व्यवहार हुने गरेको गुनासो गरेका छन्। इन्टर्नहरूले आफूहरूलाई २४ घण्टा अस्पतालको सेवामा खटाइए पनि न्यून स्टाइपेन्ड दिइएको र त्यसबारे प्रश्न उठाउँदा व्यवस्थापनले दबाब दिने गरेको आरोप लगाएका हुन्।
इन्टर्नहरूका अनुसार उनीहरूले दिनरात अस्पतालमा सेवा दिँदै आए पनि हाल मासिक स्टाइपेन्ड जम्मा ९ हजार रुपैयाँ मात्र पाउँदै आएका छन्। सो स्टाइपेन्ड तथा आफ्नो हक–अधिकारका विषयमा कुरा उठाउँदा व्यवस्थापनबाट हेपाहा व्यवहार र अपमानजनक शब्द प्रयोग हुने गरेको उनीहरूको गुनासो छ।
आफ्नो अधिकारका विषयमा प्रश्न गर्दा 'कम्पिलिसन दिँदैनौँ' र 'तिमीहरूलाई धेरै गाह्रो हुनेछ' जस्ता धम्कीसमेत दिने गरिएको इन्टर्नहरूको गुनासो छ।
यसैबीच, जानकी मेडिकल कलेज शिक्षण अस्पतालले बिना अग्रिम जानकारी काममा अनुपस्थित हुने इन्टर्न चिकित्सकको इन्टर्नसिप अवधि थप गर्ने सूचना जारी गरेको छ।
कलेजका क्लिनिकल को–अर्डिनेटर प्रा. डा. आर.एन. मण्डलले विभागीय प्रमुखहरूलाई पठाएको पत्रमा इन्टर्नहरूले आफूखुसी र बिना कुनै अग्रिम जानकारी अचानक कामकाज बन्द गरेको उल्लेख गरिएको छ। यस्तो कार्यले विभागको अनुशासन, नियम तथा नियमनको मर्यादा उल्लंघन भएको पत्रमा जनाइएको छ।
कलेजले जारी गरेको सूचनाअनुसार एक दिन अनुपस्थित हुने इन्टर्नको इन्टर्नसिप अवधि एक हप्ता थप (गरिनेछ। सबै साइकल पूरा भएपछि उक्त एक्सटेन्सन लागू गरिने जनाइएको छ। साथै, अनुपस्थित अवधिसँग सम्बन्धित स्टाइपेन्डसमेत भुक्तानी नगर्ने जानकारी दिइएको छ।
तर, इन्टर्नहरूले भने आफूहरूले अस्पतालको सेवा प्रभावित पार्ने उद्देश्यले नभई आफ्नो हक, सम्मानजनक व्यवहार र न्यायपूर्ण स्टाइपेन्डको माग उठाएको बताएका छन्।
उनीहरूको प्रश्न छ, 'आखिर कहिलेसम्म अधिकार माग्दा धम्की र कारबाहीको सामना गर्नुपर्ने?'
एक इन्टर्नले भने, 'हामी इन्टर्न हौँ, तर दास होइनौँ। हामी पनि स्वास्थ्यकर्मी हौँ। हामीलाई पनि सम्मान, न्यायपूर्ण व्यवहार र हाम्रो अधिकार चाहिन्छ।'