काठमाडौं- घरमै बसेर स्वास्थ्य सेवा लिन चाहने बिरामीलाई लक्षित गर्दै नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेड र हेल्थ एट होम संस्थाबीच सहकार्य भएको छ। अब नर्भिक अस्पतालका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीको टोलीले घरमै पुगेर सेवा प्रवाह गर्नेछन्। यस सेवाका लागि बिरामीहरूले हेल्थ एट होमको कार्यालयमा सम्पर्क गर्न सक्नेछन्।
सम्झौताअनुसार बिरामीले घरमै होम नर्सिङ, चिकित्सकीय परामर्श, फिजियोथेरापी तथा पुनर्स्थापना सेवा, ल्याब नमुना संकलन, पोस्ट-अपरेटिभ केयर, आवश्यक फलोअप र मासिक हेल्थ चेकअप प्राप्त गर्न सक्नेछन्।
साथै, घरमा सेवा लिइरहेका बिरामीलाई थप विशेषज्ञ उपचार वा अस्पताल भर्नाको आवश्यकता परेमा नर्भिक हस्पिटलमा प्रबन्ध मिलाइनेछ। यो सहकार्यले बिरामीको अवस्थाअनुसार समयमै आवश्यक उपचार र विशेषज्ञ सेवा पाउन सहज हुने विश्वास लिइएको छ।
विशेषगरी अस्पतालबाट डिस्चार्ज भएका, नियमित हेरचाह आवश्यक पर्ने, ज्येष्ठ नागरिक, दीर्घरोगी, शल्यक्रियापछि पुनर्स्थापनामा रहेका र अस्पतालसम्म जान कठिन हुने बिरामी यसबाट लाभान्वित हुनेछन्। सम्झौताअन्तर्गत दुवै संस्थाबीच स्वास्थ्यकर्मीको तालिम, ज्ञान आदानप्रदान तथा बिरामी हेरचाहमा समन्वय हुनेछ।
नर्भिकका संस्थापक अध्यक्ष वसन्त चौधरीले २५ वर्षअघि वैदेशिक रोजगारी वा अध्ययनमा रहेका नेपालीका नेपालस्थित अशक्त तथा ज्येष्ठ नागरिक अभिभावकलाई लक्षित गरी 'प्यारेन्ट वेलनेस' कार्यक्रम सुरु गर्नुभएको थियो। सोही सेवालाई नर्भिकले हेल्थ एट होमसँगको सहकार्यमा अघि बढाएको हो।
युवापुस्ताको वैदेशिक पलायनका कारण घरमा रहेका वृद्धवृद्धा तथा आफन्त एक्लो हुने र बिरामी पर्दा अस्पतालसम्म जान असहज हुने अवस्थालाई मध्यनजर गर्दै हेल्थ एट होमले घरदैलोमै सेवा पुर्याउँदै आएको छ।