काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले इन्टर्न डाक्टरको दुःख र समस्यामा निजी तथा सरकारी भनेर विभेद गर्न नहुने बताएकी छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले नेपालबाट डाक्टर पलायन भइरहेको अवस्थामा उनीहरूलाई स्वदेशमै टिकाउन सरकारले उचित वातावरण बनाउनुपर्ने बताइन्।
धितालका अनुसार निजी मेडिकल कलेजमा इन्टर्न डाक्टरले औसत १० हजार रुपैयाँ र सरकारी मेडिकल कलेजमा २४ हजार रुपैयाँ निर्वाह भत्ता पाउँदै आएका छन्। निजी र सरकारी मेडिकल कलेजका लागि एउटै मापदण्ड बनाउन कठिन भए पनि भत्तामा यति ठूलो अन्तर हुनु न्यायोचित नभएको उनको भनाइ छ।
उनले इन्टर्न डाक्टरलाई दिने भत्ताबारे स्पष्ट कार्यविधि बनाएर तत्काल कार्यान्वयन गर्न र सरकारले गरेको वाचा पूरा गर्न आग्रह गरिन्।